कोरोनाका कारण रोकिएको आइपिएल सिजन २०२१ का बाँकी खेलहरू आइतबारदेखि युएईमा सुरू भएको छ।
आइतबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १५६ रन जोड्यो। खराब सुरुवात गरेको चेन्नईका लागि ऋतुराज गायकवाडले नटआउट ८८ रनको योगदान गरे।
त्यसअघि चेन्नईले फाप डु प्लेसिस, अम्बाती रायदु र मोइन अलीलाई शून्य रनमा गुमाएको थियो। सुरेश रैना ४ रन कप्तान महेन्द्रसिंह धोनी पनि ३ रनमा आउट हुँदा चेन्नईको इनिङ्ग्स संकटमा परेको थियो। चेन्नईले ६ ओभर चल्दा ४ विकेट गुमाउँदा २४ रन जोडेको थियो।
तर ऋतुराज गायकवाडलाई रवीन्द्र जडेजा र ड्वाइन ब्राभोले साथ दिँदा चेन्नईको इनिङ उकासियो। जडेजाले २६ रन र ब्राभोले २३ रन जोडे।
बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र एडम मिल्नेले २-२ विकेट लिए।
१५७ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको क्षतिमा १३६ रन मात्र जोड्यो। मुम्बईका लागि सौरभ तिवारीले नटआउट ५० रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा चेन्नईका ब्राभोले ३ विकेट लिए भने दीपक चारहले २ विकेट हात पारे।
जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ८ खेलबाट १२ अंक जोडेको छ। दोस्रो स्थानको दिल्ली क्यापिटल्सको पनि समान खेलबाट समान अंक छ।