आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिकोणात्मक सिरिज खेलेको नेपाली टिम मंगलबार स्वदेश आइपुगेको छ।
ओमानमा भएको सिरिजमा नेपालले चार खेल खेलेको थियो। जसमा नेपालले ओमान र अमेरिका दुवैसँग समान १ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो।
सिरिजअघि नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग दुई एकदिवसीय खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।
ओमानमा ६ वटै खेलमा ओपनिङ गरेका कुशल भुर्तेल समग्रमा भ्रमण सफल भएको बताउँछन्।
‘पिएनजीसहित ६ खेल खेल्यौ। जसमा चार खेलमा जित निकाल्यौ। यो राम्रो पक्ष हो। युएस वा ओमानसँग एक जित अझै हुन सक्थ्यो। त्यसका लागि दु:खी छौ। समग्रमा राम्रो भयो,’ कुशलले भने।
६ खेलमा कुशलले एक अर्धशतक प्रहार गरेका थिए। उनले पिएनजीविरूद्ध १५ र ३ रन, अमेरिकाविरूद्ध ८४ रन र ३६ रन तथा ओमानविरुद्ध शून्य र ६ रन बनाएका थिए।
पहिलो पटक एकदिवसीयमा ओपनिङ गर्दा आफूले पाएको भूमीका निर्वाह गरेको बताउँदै कुशलले व्यक्तिगत प्रदर्शनमा भने सन्तुष्ट नभएको बताए।
‘आसिफ शेख र मैले एकदिवसीयमा पहिलो पटक ओपनिङ गर्यौं। हामीलाई जुन भूमीका दिइएको थियो। त्यही काम गरिरहेका थियौं,’ उनले भने, ‘व्यक्तिगत प्रदर्शनमा खासै सन्तुष्ट छैन। प्रत्येक खेलमा रन बनाउने सोचेको थिए। त्यसमा सफल भइन।’
नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल पनि समग्रमा भ्रमण सफल भएको बताउँछन्।
‘हामीले तीन खेल जित्ने लक्ष्य बनाएका थियौं। त्यसमा त सफल भएनौं। तर राम्रो कुरा हामीले ओमानलाई उसको मैदान पराजित गर्यौं। युवा खेलाडीको प्रदर्शन राम्रो भयो। त्यसमा खुसी छु। दुई-तीन वर्ष राखेर उहाँहरूमाथि जुन लगानी भयो, त्यो रिजल्ट विस्तारै देखिरहेको छ,’ ज्ञानेन्द्रले भने।
‘कुशल, आसिफ, विक्रम शोव र गुल्शन झाले पनि राम्रे खेले। सिनियर खेलाडीले पनि राम्रो खेल्नु भयो।’
उनले नेपाली खेलाडीमा अनुभवको कमी भएको महसुस गरेको बताए।
‘परिस्थितिसँग जुझ्ने र दबाब झेल्ने अनुभव पुगेको छैन। यसका लागि म्याच एक्सपोजर चाहिन्छ भन्ने देखियो,’ उनले भने, ‘हामीले एसोसिएटमा टिक्ने होइन दबदबा कामय राख्ने सोच्नुपर्छ। त्यसका लागि धेरै भन्दा धेरै प्रतिस्पर्धात्मक क्रिकेट खेल्नु पर्छ।’