युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै दिल्ली आईपीएल अंकतालिकाको शीर्ष स्थानमा पुगेको हो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि श्रेयस ऐयरले सर्वाधिक नटआउट ४७ रन बनाए। ४१ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर शिखर धवनले ४२ रन बनाउँदा कप्तान ऋषव पन्तले २१ बलमा ३५ रन जोड्दै नटआउट रहे।
ओपनर पृथ्वी श ११ रन बनाएर आउट भएपछि शिखर धवनले दोस्रो विकेटको लागि ऐयरसंग ५२ रनको साझेदारी गरेका थिए। त्यसपछि ऐयरले कप्तान पन्तसँग तेस्रो विकेटको लागि अर्धशतकीय साझेदारी गर्दै टिमलाई जित दिलाए। ऐयरले ४१ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ४७ तथा पन्तले २१ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए।
हैदारावादका लागि रासिद खान र खालिल अहमदले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। उसको लागि अब्दुल समदले सर्वाधिक २८ तथा राशिद खानले २२ रन योगदान दिए। रिद्दिमान शाह र केन विलीयमसनले समान १८ रन, मनिष पाण्डेले १७ रन तथा जेसन होल्डरले १० रन बनाए। डेभिड वार्नर खाता नखोली पहिलो ओभरमै आउट हुन पुगे।
दिल्लीका लागि कागीसो रबाडाले ३ विकेट लिए भने एनरिक् नोर्किया र अक्षर पटेलले समान २-२ विकेट लिए।
जितपछि लिग अंकतालिकामा दिल्ली १४ अंक सहित शीर्ष स्थानमा पुगेको छ जसले ९ खेलमा ७ जित र २ हार बेहोरेको छ। १२ अंक सहित चेन्नाई दोस्रो स्थानमा छ। हार पछि हैदरावाद ८ खेलमा ७ हार र १ जितको साथ २ अंक बटुल्दै आठौँ स्थानमा छ।