पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन् ।
शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर आज नेपाल आईपुगेका हुन् । आज दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे। साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए।
उनलाई टिममा आइकोनिय खेलाडीको रूपमा भित्र्याइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए। नेपाल राम्रो देश भएको भन्दै अफ्रिदिले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको विमानस्थलमा ओर्लिएपछि प्रतिक्रिया दिए ।
अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टी-२० ल खेलेका छन्। टेस्टमा ५ शतक हिर्काएका उनले एकदिवसीय खेलमा ६ शतक बनाएका छन्। उनले एकदिवसीय खेलमा ८ हजार रन बनाएका छन्।
पछिल्लो पटक उनले २०२१ को पाकिस्तान सुपर लिग खेलेका थिए। उनी सुपर लिगमा मुल्तान सुल्तानमा आबद्ध थिए।
इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ।
इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुँदै आएको छ।
जसमा काठमाडौंसँगै ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स छन्।