शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) मा प्रतिस्पर्धामा उत्रन पोखरा राइनोजले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको पोखराले जनाएको छ।
मुख्य प्रशिक्षक, बलिङ प्रशिक्षक र फिल्डिङ प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा पोखराले जानकारी दियो।
पोखराको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल छन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक हुन्। यस्तै शक्ति गौचन बलिङ प्रशिक्षक र रिजन प्रजू फिल्डिङ प्रशिक्षक रहेका छन्।
पोखराका चार विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका रिचार्ड लेभी, श्रीलंकाका असेला गुरणरत्ने, वेस्ट इन्डिजका केसरिक विलयम्स र श्रीलंका सहान अरचसिगे रहेका छन्।
यस्तै विनोद भण्डारी मार्की खेलाडीको रुपमा आबद्ध भएका छन्।
दीपा अग्रवाल र विशाल अग्रवाल पोखराको टिम मालिक हुन्। यस्तै दीपेन्द्र चौधरी टिम निर्देशकको रुपमा रहेका छन्।