रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स (सीएसके) आइपिएलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
युएईमा जारी १४ औं संस्करणको आईपीएलअन्तर्गत शुक्रबार आरसीबीले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।
उसका लागि ऋतुराज गायकवाडले ३८, अम्बाती रायडूले ३२, फाफ डुप्लेसिसले ३१, मोइन अलीले २३, सुरेश रैनाले १७ र महेन्द्रसिंह धोनीले अविजित ११ रनको योगदान दिए ।
बलिङमा हर्षल पटेलले दुई युजवेन्द्र चहल र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो ।
उत्कृष्ट सुरुवात गरेको आरसीबीका लागस देवदत्त पाडिक्कल र कप्तान विराट कोहलीले बिनाविकेट १११ रनको ओपनिङ साझेदारी बनाएका थिए ।
तर विराट र पाडिक्कल आउट भएपछि आरसीबीका अन्य ब्याट्सम्यानले खासै रन बनाउन सकेनन्। उसका लागि पाडिक्कल र कप्तान कोहलीले अर्धशतकीय पारी खेलेका थिए।
पाडिक्कलले ५० बलमा ७० र कोहलीले ४१ बलमा ५३ रन बनाएका हुन् । त्यस्तै, एबी डिभिलियर्सले १२ र ग्लेन म्याक्सवेलले ११ रनको योगदान दिए ।
बलिङमा ड्वेन ब्राबोले तीन, शार्दुल ठाकुरले दुई र दीपक चाहरले एक/एक विकेट लिए।
आजको जितसँगै चेन्नई फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ९ खेलमा ७ जित र दुई खेलमा हारको सामना गरेको छ ।
चेन्नईविरुद्ध हारे पनि आरसीबी अंक तालिकाको तेस्रो स्थानमा कायमै छ । उसले ९ खेल खेल्दा पाँचमा जित र चार खेलमा हारको सामना गरेको छ।
आरसीबीले लगातार दुई म्याच हार्दा चेन्नईले भने लगातार दुई खेलमा जित हात पारेको हो।
समान अंक भए पनि रन रेटका आधारमा दिल्ली दोस्रो स्थानमा झरेको छ।