एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० प्रतियोगितामा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गरेको छ।
शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ७ विकेटले पराजित गर्यो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
काठमाडौंको जितमा जिम्बावेका राय बर्लले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ७३ रन जोडे। उनले ३४ बलमा ३ चौका र ७ छक्का हिर्काए। राजु रिजालले नटआउट १९ रन जोडे।
ओपनर रहमानुल्लाह गुर्बाजले ५९ रन पनि काठमाडौंको जितमा महत्वपूर्ण सावित भयो। उनले ३६ बलमा ४ चौका र ४ छक्का हिर्काएका थिए।
त्यसअघि काठमाडौंका सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा रनटआउट भएका थिए।
काठमाडौं किंग्स ११ ले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साविक विजेता ललितपुर प्याट्रिओट्ले ८ विकेटको क्षतिमा १५७ रन जोडेको थियो।
त्यसअघि ललितपुरका लागि पवन सर्राफले ६१ रनको योगदान दिए। उनले ४४ बलमा ५ चौका र ४ छक्का हिर्काए। योगेन्द्रसिंह कार्कीले ३३ रन जोडे।
बलिङमा काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। गुल्शन झा र जिम्बावेका रायन बर्लले २-२ विकेट हात पारे।
शाहिद अफ्रिदीको चार ओभर
काठमाडौंमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी पनि आबद्ध छन्। उनले खेलमा चार ओभर बलिङ गरे पनि विकेट लिन सकेनन्। उनले चार ओभरमा ३२ रन खर्चिए। त्यसक्रमा उनले २ चौका र २ छक्का दिए।
काठमाडौंका कप्तान सन्दीप लामिछानेले अफ्रिदीलाई छैटौं ओभरमा बलिङमा ल्याएका थिए।
अफ्रिदीको पहिलो बलमा ललितपुरका शंकर रानाले एक रन लिए। दोस्रो बलमा अफ्रिदीलाई पवन सर्राफले छक्का प्रहार गर्दा तेस्रो बलमा २ रन लिए। चौथो बलमा चौका प्रहार गर्दा पाँचौ बल डट भयो। छैटौं बलमा १ रन भएको थियो। यो ओभरमा अफ्रिदीले १३ रन खर्चिए।
आठौं ओभरमा अफ्रिदीले ३ रन मात्र दिएका थिए।
काठमाडौंका कप्तान सन्दीपले अफ्रिदीलाई १४औं ओभरमा फेरि ल्याएका थिए। यो ओभरमा अफ्रिदीले पहिलो पाँच बलमा चार रन दिए। छैटौं बलमा भने ललितपुरका योगेन्द्रसिंह कार्कीले छक्का हानेका थिए। यो ओभरमा उनले १० रन खर्चिए।
आफ्नो स्पेलको चौथो ओभर १६औंभरमा गरेका अफ्रिदीले ६ रन दिए। चौथो बलमा अफ्रिदीविरुद्ध पवनले चौका हानेका थिए। बाँकी तीन बल डट भयो दुई बलमा एक एक रन भयो।