एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ।
आइतबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले विराटनगर वारियर्समाथि २ विकेटको जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको विराटनगरले ९ विकेटको क्षतिमा १५१ रन जोड्यो।
विराटनगरका लागि सिकन्दर राजाले ६७ रन जोडे। उनले ४७ बलमा २ चौका र ७ छक्का हिर्काए। अनिल शाहले ३२ रन बटुले।
सौरभ खनालले नटआउट ३० रन बटुले। उनले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
बलिङमा चितवनका सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जनतले २-२ विकेट लिए।
१५२ रनको लक्ष्य चितवनले अन्तिम बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो। चितवनका लागि राजेश पुलामीले नटआउट ४३ रन जोडे। उनले ३९ बलमा २ चौका र २ छक्का हिर्काए।
भीम सार्कीले ३० रन, दिलीप नाथले २३ रन र करिम जनतले १९ रन बटुले।
बलिङमा विराटनगरका सिकन्दर राजा र करण केसीले २-२ विकेट लिए।