एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ।
पोखराले ब्याटिङ गरिरहदा वर्षा भएको थियो। जसका कारण दुवै टिमलाई एक एक अंक दिइएको छ।
उत्कृष्ट बलिङ गरेको भैरहवाले १० ओभरमा ७ विकेट लिएको अवस्थामा वर्षा भएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ७ विकेटको क्षतिमा ६५ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
खराब ब्याटिङ गरेको पोखराका ओपनर रिचार्ड लेभी शून्यमा आउट भएका थिए। लगत्तै विपिन रावल ६ रन, विनोद भण्डारी शून्य, सुनील धमला १ रन र लोकेश बम शून्यमा आउट भएका थिए।
पाँच ओभर चल्दै गर्दा पोखराले ५ विकेट गुमाउँदा केवल १२ रन जोडेको थियो। पोखरालाई संकटमा पार्न भैरहवाका बलर दुर्गेश *गुप्ताले ३ विकेट लिएका थिए।
त्यसपछि असेला गुणरत्ने २३ रनमा रनआउट भए। उनलाई भैरहवाका तमिम एकबालले रनआउट गरेका थिए। यस्तै केसरिक विलयम्स पनि शून्यमा आउट भए।
विवेक यादव १६ रन र विक्रम शोव ७ रन बनाएर खेलिरहदा खेल अवरुद्ध भएको थियो।
बलिङमा भैरहवाका दुर्गेशले ३ ओभरमा ३ विकेट लिँदा १ मेडन राखे भने १६ रन खर्चिए। यस्तै धम्मीका प्रसाद, अभिनास बोहरा र तुलबहादुर थापाले १-१ विकेट लिए।
(* यसअघि अन्यथा भएकाले सच्याइएको छ।)