एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले हरायो।
यसअघि पहिलो खेलमा पोखराले भैरहवा ग्लाडिएटर्ससँग अंक बाँडेको थियो। ललितपुर भने पहिलो खेलमा काठमाडौं किंग्स ११सँग पराजित भएको थियो।
आउटफिल्ड गिलो भएका कारण ढिलो गरी सुरू भएको खेल ७ ओभरमा झारिएको थियो। जसमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ३ बल खेल्न बाँकी छदा १ विकेटको क्षतिमा पूरा गर्यो।
पोखराका लागि रिचार्ड लेभीले नटआउट ३८ रन जोडे। उनले २२ बलमा ५ चौका र १ छक्का हिर्काए।
अन्तिम ओभरमा पोखरालाई जितका लागि ११ रन चाहिएको थियो। जसमा लेभीले ललितपुरका पवन सर्राफलाई पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका हिर्काउँदै आफ्नो टिमलाई जिताए।
रित गौतम १२ रनमा आउट भए। उनले १४ बलमा १ चौका हिर्काए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेटको क्षतिमा ५१ रन जोड्यो। ललितपुरका लागि सादुन विराकोडीले १६ बलमा १९ रन बटुले।
ओशाडा फर्नान्डोले ७ बलमा १० रन र नारायण जोशीले ५ बलमा ११ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा पोखराका नन्दन यादवले ३ विकेट लिए। उनले २ ओभरमा ११ रन खर्चिए। विक्रम शोवले २ ओभरमा २ विकेट लिँदा ११ रन नै खर्चिए। केसरिक विलियम्सले १ विकेट लिए।