एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स विजयी भएको छ। भैरहवाले बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर वारियर्समाथि ६ विकेटको जित हात पार्यो।
विराटनगरले दिएको ९० लक्ष्य भैहरवाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
भैरहवाले पहिलो जित हात पारेको हो। अघिल्लो खेलमा भैरहवाले पोखरासँग अंक बाँडेको थियो। विराटनगरको भने यो लगातार दोस्रो पराजय हो।
भैरहवाका लागि उपुल थारांगाले नटआउट ३४ रन जोडे। उनले ३५ बल खेलेर ४ चौका प्रहार गरे। कप्तान शरद भेषवाकरले नटआउट ६ रन जोडे।
ओपनर प्रदीप ऐरीले २२ रन, तमिम एकबालले १२ रन र रोहित पौडेलले पनि १२ रन बटुले। आरिफ शेख भने शून्यमा आउट भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमै अलआउट भयो।
विराटनगरका लागि दिलसान मुनावीराले सबैभन्दा बढी २५ रन जोडे। उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा भैरहवाका धम्मीका प्रसादले ३ विकेट लिए। उनले ३ ओभरमा १ मेडन राख्दा ६ रन खर्चिए।
आरिफ शेखले पनि ३ विकेट लिन सफल भए। अभिनास बोहराले २ विकेट लिए भने दुर्गेश गुप्ता र कृष्ण कार्कीले १-१ विकेट हात पारे।