नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिने घोषणा गरेका छन्।
राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै दुवैले राजीनामा दिने घोषणा गरेका हुन्।
दुई वर्षअघि निर्वाचित भएका दुवैले पदावधी नसकिदै राजीनामा दिने घोषणा गरेका हुन्।
अध्यक्ष चतुरबहादुर चन्दसँगै निर्वाचित भएका दुवैले पत्रकार सम्मेलनमा असन्तुष्टि भने पोखेनन्।
सचिव प्याकुरेलले नेपाली क्रिकेटको लामो इतिहासको पृष्ठभूमी राख्दै विगत १० वर्षदेखि क्यानमा संघर्ष गरेको बताए।
उनले अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) बाट क्यानको निलम्बन फुकुवा भएको र बजेट लगायत सबै आउन थालेकाले आफूहरूको लक्ष्य पूरा भएको बताए।
प्याकुरेलले नेपाली क्रिकेट अब सामान्य अवस्थामा फर्किएको बताउँदै आफ्नो मिसन पूरा भएको बताए।
उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले राजीनामाको विषयमा क्यान नेतृत्वसँग कुनै छलफल नगरेको पनि बताए।
साथै उनीहरूले दुई वर्षअघि क्यानको निलम्बन फुकुवा भएकै दिन राजीनामा दिने सोच भएको बताए।