एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। जितसँगै चितवन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
चितवनले बिहीबार भएको खेलमा काठमाडौं किंग्स ११ लाई ३ विकेट हरायो।
काठमाडौंको भने यो पहिलो हार हो। काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो।
बिहीबार त्रिवि मैदानमा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले ७ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्यो।
चितवनको जितमा राजेश पुलामी मगरले नटआउट २६ रन र कमलसिंह ऐरीले नटआउट २३ रनको योगदान दिए। पुलामीले २९ बलमा २ छक्का हिर्काउँदा ऐरीले १५ खेल खेलेर १ चौका र २ छक्का प्रहार गर्दै आफ्नो टिमलाई जिताए।
त्यसअघि दिलिप नाथ २३ रन, करिम जनत २१ रन र मोहमद साहजाद १७ रनमा आउट भए। चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २-२ विकेट लिए। जनक प्रसाद, गुल्शन झा र कप्तान सन्दीप लामिछानेले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेटको क्षतिमा १४१ रन जोड्यो।
काठमाडौंका लागि सुवास खकुरेलले ३५ रन, राजु रिजालले २८ रन र जनक प्रसादले २६ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन नजोडी आउट भए।
बलिङमा चितवनका सागर ढकालले ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए। करिम जनतले २ विकेट लिए। कमल ऐरी र सीकुगे प्रशन्नले १-१ विकेट हात पारे।