एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा भैहरवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्बीचको खेलमा स्कोर बराबरी भएको छ। स्कोर बराबरीपछि सुपर ओभरमा गएको खेल प्रकाशका कारण हुन नसकेपछि दुवै टिमलाई एक एक अंक दिइएको छ।
पहिले ब्याटिङ गरेको ललितपुरले ७ विकेटको क्षतिमा १७७ रन जोड्यो। जवाफी ब्याटिङ गरेको भैरहवाले पनि ५ विकेटको क्षतिमा १७७ रन जोड्दा स्कोर बराबरी हुँदै खेल सुपर ओभरमा गयो।
भैरहवालाई अन्तिम ओभरमा जितका लागि १८ रन चाहिएको थियो। जसमा ललितपुरका रसिद खानको पहिलो दुई बलमा कुशल मल्लले ४ रन जोडे। तेस्रो बलमा उनी आउट भए।
चौथो बलमा उपुल थारांगाले छक्का हिर्काए। पाँचौ बलमा एक रन लिए। छैटौं बलमा भैरहवाका कप्तान शरद भेषावकरले छक्का हानेपछि स्कोर बराबरी भयो।
भैरहवाका लागि उपुल थारांगाले नटआउट ६७ रन जोडे। कुशल मल्ल १९ बलमा ३५ रन जोडेर आउट भए।
भैरहवाका ओपनर प्रदीप ऐरी २ रनमा आउट भए। तमिम एकबाललाई रिजन ढकालले १४ रनमा आउट गरे। रोहित पौडेल २ रनमा आउट भए। आरिफ शेखले २८ रनको योगदान दिए।
बलिङमा ललितपुरका रसिद खानले ३ विकेट लिए।
त्यसअघि ललितपुरका लागि सान्दुन विराकोडीले ५८ रन जोडे। ओपनर सान्दुनले ४१ बलमा २ चौका र ५ छक्का हिर्काए।
ओशाडा फर्नान्डोले २० रन, सन्दीप जोराले ३८ रन र अजमातुल्लह ओमारजाइले ४२ रन बटुले। ओशाडनाले १९ बलमा २ चौका र १ छक्का, जोराले २५ बलमा समान २ चौका र २ छक्का तथा ओमारजाइले २२ बलमा २ चौका र ४ छक्का हिर्काए।
बलिङमा भैरहवाका अभिनास बोहराले २ विकेट लिए भने धम्मीका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले १-१ विकेट लिए।
बराबरीपछि भैरहवा ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। यसअघि भैरहवाले पोखरा राइनोजविरुद्धको खेलमा पनि वर्षाका कारण अंक बाँड्नु परेको थियो। ललितपुर भने एक अंकसहित पाँचौ स्थानमा छ।