राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा चितवन टाइगर्सविरुद्धको खेलमा ‘स्लो ओभर’ बलिङ गरेको भन्दै ईपीएलले काठमाडौं किङ्स–११ का कप्तान सन्दीप लामिछानेलाई जरिवाना गरेको छ।
बिहीबार चितवनविरुद्धको खेलमा स्लो ओभर बलिङ गरेको भन्दै कप्तान सन्दीपलाई ‘म्याच फी’ को १० प्रतिशत जरीवाना गरेको हो। म्याच रेफ्री मोहम्द शफिकले यो जरिवाना तोकेका हुन्।
त्यस्तै बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’ को २ प्रतिशत जरीवाना गरिएको छ।
आजको खेलमा काठमाडौं चितवनसँग ३ विकेटले पराजित भएको थियो। सन्दीप लामिछानेले ईपीएलमा पहिलोपटक कप्तानी गरेका हुन् ।
**
एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। जितसँगै चितवन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
चितवनले बिहीबार भएको खेलमा काठमाडौं किंग्स ११ लाई ३ विकेट हरायो।
काठमाडौंको भने यो पहिलो हार हो। काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो।
बिहीबार त्रिवि मैदानमा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले ७ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्यो।
चितवनको जितमा राजेश पुलामी मगरले नटआउट २६ रन र कमलसिंह ऐरीले नटआउट २३ रनको योगदान दिए। पुलामीले २९ बलमा २ छक्का हिर्काउँदा ऐरीले १५ खेल खेलेर १ चौका र २ छक्का प्रहार गर्दै आफ्नो टिमलाई जिताए।
त्यसअघि दिलिप नाथ २३ रन, करिम जनत २१ रन र मोहमद साहजाद १७ रनमा आउट भए। चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २-२ विकेट लिए। जनक प्रसाद, गुल्शन झा र कप्तान सन्दीप लामिछानेले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेटको क्षतिमा १४१ रन जोड्यो।
काठमाडौंका लागि सुवास खकुरेलले ३५ रन, राजु रिजालले २८ रन र जनक प्रसादले २६ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन नजोडी आउट भए।
बलिङमा चितवनका सागर ढकालले ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए। करिम जनतले २ विकेट लिए। कमल ऐरी र सीकुगे प्रशन्नले १-१ विकेट हात पारे।