एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रिओट्सले पहिलो जित हात पारेको छ।
ललितपुरले शुक्रबार भएको खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो। विराटनगरको भने यो लगातार तेस्रो हार हो।
ललितपुरले दिएको २२७ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १८९ रन जोड्यो। विराटनगरका लागि दिलसान मुनावीराले ५९ रन जोडे। उनले ३९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
त्यसअघि चन्द्रपाउल हेमराजले २८ रन र आसिफ शेखले ३७ रन जोडे। शिखन्दर राजा २४ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा ललितपुरका अजमातुल्लाह ओमार्जाइले ४ विकेट लिए। यस्तै ललितनारायण राजवंशीले २ विकेट हात पारे।
त्यसअघि ललितपुरले ५ विकेटको क्षतिमा २२६ रन जोडेको थियो।
यो स्कोर इपिएलकै सर्वाधिक स्कोर हो। यसअघि सन् २०१८ मा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजविरुद्ध २१६ रन जोडेको थियो।
शुक्रबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरका लागि श्रीलंकन ब्याट्सम्यान सान्दुन वीराकोडी र अफगान ब्याट्सम्यान अजमातुल्लाह ओमार्जाइले अर्धशतक प्रहार गरे।
सान्दुनले ७३ रन जोड्ने क्रममा ४३ बलमा १० चौका र ३ छक्का हिर्काए। ओमार्जाइले २४ बलमा नटआउट ५८ रन जोडे। ओमार्जाइ ७ छक्का हिर्काएका थिए।
नारायण जोशीले ४ बल खेल्दा ३ छक्का हिर्काएर नटआउट १८ रन जोडे। नारायणले अन्तिम ओभरको अन्तिम तीन बलमा विराटनगरका रामनरेश गिरीलाई लगातार छक्का हिर्काएका थिए।
यस्तै कप्तान कुशल भुर्तेलले १७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे। योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्का हिर्काउँदै २७ रन जोडे। पवन सर्राफ ३ रन र जयकिशन कोल्शावाला १३ रनमा आउट भए।
बलिङमा विराटनगरका करण केसीले २ विकेट लिए।