चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ।
चितवनले शुक्रबार त्रिवि मैदानमा भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्यो। पोखराको भने यो पहिलो पराजय हो।
पोखराले दिएको १२४ रनको सहज लक्ष्य चितवनले १६.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
चितवनका लागि मोहमद साहजादले नटआउट ६३ रन र भीम सार्कीले नटआउट ५४ रन जोडे। साहजादले ५२ बलमा ७ चौका र २ छक्का हिर्काए। यस्तै भीमले ४२ बलमा ५ चौका र २ छक्का हिर्काए। ओपनर इशान पाण्डे शून्यमा आउट भए।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो।
उसका लागि विवेक यादवले नटआउट ५३ रन जोडे। उनले ४५ बलमा ३ चौका र ३ छक्का हिर्काए। असेला गुणरत्नेले २५ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा चितवनका कमल ऐरी र सहाब अलामले २-२ विकेट लिए।