आईसीसी विश्व कप लिग-२ मा पपुवा न्युगिनीले लगातार १२ औं खेलमा हार ब्यहोरेको छ।
ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आयोजक ओमानसँग शुक्रबार ३ विकेटले पराजित हुँदै हारको शृंखला कायमै राखेको हो। पपुवा न्यूगिनीले ओमान सिरिजका ४ वटै खेलमा पराजित भयो।
अल अमिरात क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा पपुवा न्युगिनीले दिएको १५१ रनको मध्यम लक्ष्य घरेलु टोली ओमानले ७ विकेट गुमाएर ३५.५ ओभरमा पुरा गर्यो।
ओमानकाो जितमा अकिब इल्यासले सर्वाधिक ५६ रन जोड्दा मोहम्मद नदीमले २४, कश्यप प्रजापतिले २१ तथा जिशन मक्सुदले अविजित १७ रन बनाए।
४७ रनमा सुरूवाती ३ विकेट गुमाएको ओमानले तेस्रो विकेटका लागि इल्यास र नदीमले ७३ रनको साझेदारी गर्दै जिततर्फ अगाडि बढाएका थिए।
उक्त साझेदारी टुटेपछि लगातार विकेट गुमे पनि कप्तान मक्सुदले एक किनार सम्हाल्दै टिमलाई १३ औं जित दिलाए।
पपुवा न्युगिनीका देब्रे हाते पेसर कबुवा मोरीए एक्लैले ५ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। उनले ९ ओभरमा मात्र २८ रन खर्चिए। चाड सोपर र सिसि बाउले समान १-१ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवान्यु गिनी ४३.२ ओभरमा सबै विकेट गुमाएर १५० रनमा समेटिएको थियो। उसको लागि कप्तान असाद भालाले सर्वाधिक ६२ रन, लेगा सियाकाले २२ रन, जेसन किलाले १८ रन तथा टोनी उराले १७ रन बनाएका थिए।
८७ रनमा ६ विकेट गुमाएको अवस्थामा भालाले किलासँग सातौं विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए।
ओमानका लागि लेग स्पिनर खवर अलि एक्लैले ५ विकेट लिए। उनले ८ ओभरमा २ मेडन ओभर गर्दै १५ रन खर्चिएका थिए। यस्तै कप्तान जिशान मक्सुदले २ विकेट लिए भने बिलाल खान, कलेमुल्लाह र अकिब इल्यासले समान १-१ विकेट लिएका थिए।
आईसीसी विश्वकप लिग-२ मा ओमानले १७ खेलबाट १३ औं जितसहित २६ अंक बनाएर शीर्ष स्थानमा कायमै छ। पपुवा न्युगिनीले भने खेलेको सबै १२ वटै खेलमा हार बेहोरेर अंक जोड्न सकेको छैन।