एभरेस्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले आफ्नो अन्तिम खेलमा जित निकालेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले काठमाडौं किंग्स ११ लाई ७ रनले हरायो।
मैदान गिलो भएका कारण आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेटको क्षतिमा १०४ रन जोडे।
विराटनगरका लागि मध्यक्रमका ब्याट्सम्यान अनिल साहले १६ बल खेलेर नटआउट ४५ रन जोडे। उनले २ चौका र ५ छक्का हिर्काए। कप्तान करण केसीले नटआउट १५ रन बटुले। उनले ११ बलमा १ चौका र १ छक्का हिर्काए।
ओपनर रायन पठानले ११ बलमा २ चौका र ३ छक्का हिर्काउँदै ३० रन जोडेका थिए।
बलिङमा काठमाडौंका गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले १-१ विकेट लिए।
१०५ रन को लक्ष्य पछ्याएको काठमाडौंले आठ ओभरमा ३ विकेटको क्षतिमा ९७ रन मात्र जोड्न सक्यो। काठमाडौंका लागि रहमनुल्लाह गुर्बाजले २८ रन जोडे भने राजु रिजालले नटआउट २४ रन बनाए। रायन बर्ल १५ रन बनाए। सौरभ खनालले १० बलमा नटआउट २६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
यसअघि लगातार ४ खेलमा पराजित भएको विराटनगर समूह चरणबाट बाहिरिसकेको छ।
काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ। पुछारको विराटनगरले सबै खेल खेल्दा २ अंक नै जोडेको छ।