एभरेस्ट प्रिमियर लिग (इपिएल) को आफ्नो अन्तिम खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स पराजित भएको छ।
ललितपुरलाई आइतबार भएको खेलमा प्लेअफमा पुगिसकेको टिम चितवन टाइगर्सले ५ विकेटले पराजित गर्यो।
जारी प्रतियोगितामा चितवनको यो लगातार चौथो जित हो।
यता ललितपुर भने तेस्रो खेलमा पराजित भयो। पाँच खेलबाट ३ अंक जोड्दै चौथो स्थानमा रहेको ललितपुरको प्लेअफ यात्रा कठिन भएको छ।
अब पाँचौ स्थानको काठमाडौं किंग्स ११ ले बाँकी रहेका दुई मध्ये एक खेलमा अंक जोडे ललतिपुर बाहिरिनेछ।
आइतबार ललितपुरले दिएको १०९ रनको सहज लक्ष्य चितवनले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
चितवनको जितमा मोहमद साहजादले ३५ रन जोड्दा भीम सार्कीले २७ रन र दिलिप नाथले नटआउट १६ रन जोडे।
बलिङमा ललितपुरका अजमतुल्लाह ओमार्जाइ र रिजन ढकालले २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको ललितपुर २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन मात्र जोड्न सक्यो।
उसका लागि जयकिशन कोल्सावालाले ४२ रन र सान्दुन वीराकोडीले १४ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइट आउट।
बलिङमा चितनवका कमलसिंह ऐरीले ३ विकेट लिए। उनले चार ओभरमा १ मेडन राख्दा ११ रन मात्र खर्चिए। सागर ढकाल र करिम जनतले २-२ विकेट लिए।