विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) यूएईमा जारी १४ औं संस्करणको इन्डियन प्रमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ।
शारजहाँमा भएको खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबी प्लेअफमा प्रवेश गरेको हो। जारी सिजनमा प्लेअफमा पुग्ने आरसीबी तेस्रो टोली बनेको छ ।
यसअघि चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल प्लेअफमा पुगिसकेका छन्। आजको हारसँगै पञ्जाब प्लेअफ दौडबाट ‘लगभग’ बाहिरिएको छ ।
शारजहाँ क्रिकेट रंगशालामा बैंलोरले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।
उसका लागि मयंक अग्रवालले ५७, केएल राहुलले ३९, एडन माक्रर्मले २०, शाहरुख खानले १६ र मोसेस हेनरिक्स्ले अविजित १२ रन बनाए। बैंलोरको बलिङमा युजवेन्द्र चहलले तीन, जर्ज गार्टन र शाहबाज अहमदले एकएक विकेट लिएका थिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।
उसका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले। जारी सिजनमा लगातार तेस्रो अर्धशतक बनाउने क्रममा उनले ३३ बलमा तीन चौका र चार छक्कासहित ५७ रन बनाए ।
त्यस्तै, देवदत्त पाडिक्कलले ४०, कप्तानले विराट कोहलीले २५, एबी डिभिलियर्सले २३ र सहबाज अहमदले ८ रनको योगदान दिए। बलिङमा मोइसेस हेनरिक्स र मोहम्मल शामीले तीन/तीन विकेट लिए ।
जारी सिजनमा बैंलोरले १२ खेल खेल्दा आठमा जित र चारमा हारको सामना गरेको छ। त्यस्तै, एक खेल बढी खेलेको पञ्जाबले १३ खेलमा आठमा हार र पाँच खेलमा जित हात पारेको छ।