एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले चितवन टाइर्गसलाई ६ विकेटले पराजित गरेको छ।
सोमबार चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले ४ विकेटको क्षतिमा १७.५ ओभरमा पूरा गर्यो। भैरहवाको जितमा प्रदीप ऐरीले ७२ रनको योगदान दिए। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
ओपनर तमिम एकबालले ४० रन जोड्दा उपुल थारांगाले नटआउट ३९ रनको योगदान दिए।
बलिङमा चितवनका करिम जनतले २ विकेट लिए भने सागर ढकाल र भीम सार्कीले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको चितवतले ८ विकेटको क्षतिमा १६४ रन जोड्यो। चितवनका लागि मोहमद साहजादले ३२ रन, करिम जनतले ३५ रन, सेकुगे प्रशंन्न २४ रन र भीम सार्कीले १६ रन बनाए।
बलिङमा अभिनास बोहराले ३ विकेट लिए। कुशल मल्लले २ विकेट हात पारे।
इपिएलमा चितवन र भैरहवासँगै पोखरा राइनोज यसअघि प्लेअफमा पुगिसकेका छन्।
इपिएल अंक तालिकामा चितवन ५ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा भैहरवाको ४ खेलबाट ६ अंक छ।
पोखरा ४ खेलबाट ५ अंक जोड्दै तेस्रो स्थानमा छ। ललितपुर ५ खेलबाट ३ अंक जोड्दै चौथो स्थानमा छ।
काठमाडौं किंग्स ११ तीन खेलबाट २ अंक जोड्दै पाँचौ स्थानमा छ। काठमाडौंले बाँकी दुई मध्ये एक खेलमा अंक जोडे प्लेअफमा स्थान बनाउनेछ। पाँच खेलमा २ अंक जोडेको विराटनगर वारियर्स भने बाहिरिसकेको छ।