एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्न काठमाडौं किग्स ११ ले अन्तिम खेलमा भैरहवा ग्लार्डिएटर्सलाई पराजित गर्नु पर्ने भएको छ।
सोमबार पोखरा राइनोजसँग डिएल मेथडमा १४ रनले पराजित भएसँगै काठमाडौंलाई अन्तिम खेल जित्ने पर्ने भएको हो।
सोमबार काठमाडौंले दिएको १८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाउँदा खेल वर्षाले अवरुद्ध भएको थियो। त्यसपछि खेल सम्भव नहुँदा पोखराले डिएल मेथडमा १४ रनले जित्यो।
पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेटको क्षतिमा १८२ रन जोड्यो। काठमाडौंका लागि अमित श्रेष्ठले ५६ रन र रायन बर्लले ५० रनको योगदान गरे। कप्तान सन्दीप लामिछानले ११ बलमा ३१ रन जोडे।
बलिङमा पोखराका विवेक यादवले ३ विकेट लिए।
ब्याटिङमा पनि पोखराका लागि विवेकले नटआउट ४१ रन बनाएर खेलिरहदा वर्षा भएको थियो। लोकेश बम पनि १८ रन बनाएर खेलिरहेको अवस्था थियो।
इपिएल अंक तालिकामा शीर्ष स्थानको चितवन टाइगर्सको ५ खेलबाट ८ अंक र दोस्रो स्थानको पोखराको ७ अंक भएको छ।
तेस्रो स्थानको भैरहवाले ६ अंक जोडेको छ। चौथो स्थानको ललितपुरको ३ अंक र पाँचौ स्थानको काठमाडौंको २ अंक छ। अन्तिम खेलमा काठमाडौं पराजित भए ललितपुर प्लेअफमा पुग्नेछ। काठमाडौं विजयी भए भैहरवासँगै प्लेअफ खेल्नेछ।