एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितअन्तर्गत काठमाडौं किंग्स-११ र भैहरवा ग्लाडिएटर्सबीचको समूह चरणको अन्तिम खेल रद्द भएको छ।
सोमबार राति भएको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको आउटफिल्ड गिलो हुँदा खेल रद्द भएको हो।
यससँगै इपिएलको समूह चरणका खेल सकिएका छन्।
५ खेलबाट ८ अंक जोडेको चितवन टाइर्गस शीर्ष स्थानमा रहन सफल भयो। पोखरा राइनोज ५ खेलबाट ७ अंक जोड्दै दोस्रो भयो।
चितवन र पोखराबीच पहिलो क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्न पाउनेछ।
रनरेटमा पछि पर्दै तेस्रो बनेको भैरहवाले ७ अंक जोड्यो। अन्तिम खेल रद्द भएसँगै १ अंक जोडेको काठमाडौंले कुल ३ अंक जोड्दै चौथो बन्यो।
अन्तिम खेलमा भैहरवासँग पराजित भएको अवस्थमा काठमाडौं बाहिरिन सक्थ्यो। खेल रद्द भएसँगै ललितपुर प्याट्रिओट्सलाई पछि पार्दै काठमाडौं प्लेअफमा पुग्यो।
अब एलिमिनेटरमा काठमाडौं र भैरहवाबीच खेल हुनेछ। जित हात पार्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टिम बाहिरिनेछ।
भोलि पहिलो खेल चितवन र पोखरा तथा दोस्रो खेलमा भैहरवा र काठमाडौंबीच खेल हुनेछ।
३ अंक जोडेको पाँचौ स्थानको ललितपुरसँगै २ अंक बटुलेको पुछारको विराटनगर वारियर्स भने बाहिरिए।