अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयन सार्वजनिक गरेको छ।
मनोनयनमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने परेका छन्। मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकाका ब्याट्सम्यान जस्करण मल्होत्रा परेका छन्।
सन्दीपले ओमानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट बलिङ गरेका थिए। सिरिजअघि उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा पपुवा न्युगिनीविरूद्ध ६ विकेट लिँदा ११ रन खर्चिएका थिए।
ओमानमा सन्दीपले ६ एकदिवसीय खेलमा १८ विकेट लिएका थिए। त्यहाँ उनको औषत ७.३८ रहेको थियो।
बंगलादेशका नसुमले न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा ८ विकेट लिएका थिए। उनले चौथो खेलमा ४ विकेट लिँदा १० रन मात्र खर्चिएका थिए। सिरिज बंगलादेशले ३-२ ले जितेको थियो।
अमेरिकाका मल्होत्राले पपुवा न्युगिनीविरूद्धको खेलमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए।
उनी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हिर्काउने चौथो खेलाडी बनेका थिए। खेलमा उनले नटआउट १७३ रन जोडेका थिए।
फ्यानको भोटको आधारमा महिनाको उत्कृष्ट खेलाडीको विजेता सार्वजनिक गरिनेछ। आइसिसीले आगामी साता विजेता सार्वजनिक गर्ने जनाएको छ।
मन पर्ने खेलाडीलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्।