भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा भैहरवालाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो।
अब उपाधिका लागि पोखरा र चितवन टाइगर्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।
बिहीबार भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो।
पोखराका लागि ओपनर रिचार्ड लेभीले १४ रन जोड्दा अर्का ओपनर रित गौतम ६ रनमा आउट भए। लोकेश बम शून्यमा आउट भए।
सहान अराचसिगेले नटआउट ५३ रन जोडे। उनले ४४ बलमा ७ चौका हिर्काए। यस्तै विपिन रावलले नटआउट ४० रन बटुले। उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए।
बलिङमा भैरहवाका भुवन कार्कीले २ विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले ६ विकेटको क्षतिमा ११९ रन जोड्यो।
भैरहवाका लागि कप्तान शरद भेषवाकरले नटआउट ३२ रन जोडे। उनले ३३ बलमा २ चौका र १ छक्का हिर्काए। यस्तै आरिफ शेखले २७ रन जोड्दा रोहित पौडेलले १८ रन, प्रदीप ऐरीले ११ रन र उपुल थारांगाले १० रन मात्र बनाउन सके।
बलिङमा पोखराका सहान अरचसिगे र किशोर महतोले २-२ विकेट लिए। नन्दन यादव र असेला गुणरत्नले १-१ विकेट लिन सफल भए।