राजधानीमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) उपाधिको लागि सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र बिनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन्।
खेल शनिबार दिउँसो १२:१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।
लिगको प्लेअफ चरण अन्तर्गत चितवनले पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई पराजित गर्दै तथा पोखराले दोस्रो क्वालीफायरमा भैरहवा ग्ल्याडीएटर्सलाई हराउँदै उपाधि नजिक पुगेका हुन्।
चितवन र पोखरा दुवै पहिलो पटक ईपीएलको फाइनल पुगेका हुन्। त्यसैले ईपीएलले यो सिजन नयाँ विजेता पाउनेछ। लिगको पहिलो संस्करणको उपाधि शरद भेसावकर कप्तानीको पन्चकन्या तेजले, दोस्रो संस्करणको उपाधि पारस खड्का कप्तानीको विराटनगर वारियर्सले तथा तेस्रो संस्करणको उपाधि ललितपुर पेट्रिएट्सले जितेको थियो।
चितवन अघिल्लो संस्करण प्लेअफ पुगे पनि फाइनल पुग्न असफल थियो भने पोखरा गत सिजन पहिलो चरणबाटै बाहिरिएको थियो।
सोमपाल कामीको कप्तानीमा चितवनले लिगमा पहिलो चरणका ५ मध्ये ४ खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। पोखरा ५ मध्ये ३ खेलमा जित दर्ता गर्दै प्लेअफ पुगेको थियो।
दुई टिम बीच पहिलो क्वालीफायरमा भएको प्रतिस्पर्धामा पोखरा लिग इतिहासकै कम योगफल ६६ रनमा समेटिन पुगेपछि चितवनले खेल सहजै ९ विकेटले जितेको थियो।
चितवनको बलिङ पक्ष प्रतियोगितामा सबैभन्दा बलियो छ। टिममा देब्रे हाते स्पिनर सागर ढकाल १३ विकेटसहित सर्वाधिक विकेटकर्ता हुन् भने पेसर करिम जनत ९ विकेट सहित दोस्रो सर्वाधिक विकेटकर्ता हुन्। यस्तै शाहब आलम र कमल सिंह ऐरी समान ८-८ विकेट लिंदै संयुक्त रुपमा तेस्रो सर्वाधिक विकेटकर्ता हुन्।
लिगमा चितवनको प्रतिनिधित्व गरिरहेका अफगानिस्तानका ओपनिंग ब्याट्सम्यान मोहम्मद शहजाद राम्रो लयमा छन् जो ६ खेलमा ३९.२ को औशत र १३२.४३ को स्ट्राइक रेटमा १९६ रन बनाउदै लिगको सर्वाधिक रनकर्ता हुन्। यस्तै टिमको ब्याटिङमा भिम सार्की , राजेश पुलामीसमेत लयमा छन्।
बलियो ब्याटिङ रहेको पोखरामा दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभी लयमा छन्। उनले ७ खेलमा २५.८३ को औशत र १५०.४८ को स्ट्राइक रेटमा १५५ रन बनाएका छन्। यस्तै अर्का विदेशी खेलाडी सहान अरचिगेले ५ खेलमा ४७.६६ को औशतमा १४३ रन बनाएका छन्। टिमका युवा ब्याट्सम्यान विवेक यादव लगातार राम्रो प्रदर्शन गरिरहेका छन् र ७ खेलको ४ इनिंग्समा ब्याटिंग गर्दा ३ पटक नट आउट रहँदै ११२ रन बनाएका छन्। टिमको बलिंगतर्फ युवा पेसर नन्दन यादव, बिक्रम सोब , सहान अराचिगेले राम्रो प्रदर्शन गरका छन्।
ईपीएलको विजेताले नेपाली घरेलु क्रिकेटकै सर्वाधिक ५० लाख रूपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ।