टी-२० विश्वकपमा ओमानले सानदार सुरूवात गरेको छ। आइतबार भएको खेलमा घरेलु टिम ओमानले पपुवा न्युगिनी (पिएनजी) माथि १० विकेटको फराकिलो जित हात पारेको हो।
पिएनजीले दिएको १३० रनको लक्ष्य ओमानले विकेट नगुमाइ १३.४ ओभरमा पार गर्यो। ओमानका लागि ओपनरद्वय जतिन्दर सिंह र एक्युब इल्यासले अर्धशतक प्रहार गरे।
जतिन्दरले नटआउट ७३ रन र इल्यासले नटआउट ५० रन जोडे। जतिन्दरले ४२ बलमा ७ चौका र ४ छक्का हिर्काउँदा इल्यासले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।
उसका लागि कप्तान असद भालाले ५६ रन जोडे। यस्तै चाल्स अमिनीले ३७ रन र सेसे बाउले १३ रन बटुले।
अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। पिएनजीका दुवै ओपनर डकआउट भएका थिए।
बलिङमा ओमानका जीसन मक्सुदले ४ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। बिलाल खान र खलीमुल्लाहले समान २-२ विकेट लिए।
टी-२० विश्वकप २०२१ मा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्।
जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्।
सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।
पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।
पहिलो चरण
समूह ए : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह बी : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर-१२
समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता, समूह बी उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता