आइसिसी टी-२० विश्वकपको पहिलो चरणको खेलमा बंगलादेशलाई स्कटल्यान्डले पराजित गरेको छ। आइतबार राति भएको खेलमा स्कटल्यान्डले बंगलादेशमाथि ४ रनको जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ९ विकेटको क्षतिमा १४० रन जोड्यो।
स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले २९ रन जोड्दा क्रिस ग्रेभ्सले ४५ रनको योगदान गरेका थिए।
बलिङमा बंगलादेशका महेदी हसनले ३ विकेट लिए। सकिब अल हसन र मुस्ताफिजुर रहमानले २-२ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन मात्र जोड्न सक्यो।
उसका लागि मुस्फिकर रहिमले ३८ रन, कप्तान मोहमुदुल्लाहले २३ रन र सकिबले २० रन मात्र जोड्न सके।
बलिङमा स्कटल्यान्डका ब्राड हिलले ३ विकेट लिए। क्रिस गेम्भले २ विकेट हात पारे।
विश्वकपमा आज आयरल्यान्ड र नेदरल्यान्ड तथा नामिबिया र श्रीलंकाबीच खेल हुँदैछ।
टी-२० विश्वकप २०२१ मा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्।
जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्।
सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।
पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।
पहिलो चरण
समूह ए : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह बी : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर-१२
समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता, समूह बी उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता