आयरल्यान्डका बलर कार्टिस क्याम्फरले टी-२० विश्वकप २०२१ मा चार बलमा चार विकेट लिएर इतिहास बनाएका छन्।
तीव्र गतिका बलर कार्टिसले सोमबार नेदरल्यान्ड्सविरूद्धको खेलमा चार बलमा चार विकेट लिएका हुन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सविरुद्ध आयरल्यान्ड्सका कार्टिसले दशौं ओभरमा लगातार चार विकेट लिएका हुन्।
उनले दशौं ओभरको दोस्रो बलमा कोलिन अकरम्यानलाई ११ रनमा विकेटकिपरको हातबाट क्याच गराए। सुरुमा अम्पायरले आउट नदिएपछि रिभ्यू मागिएको थियो। त्यसपछि अम्पायरले आउट दिए।
तेस्रो बलमा उनले रायन टेन डसकेटलाई डकआउट गर्ने क्रममा एबलिडब्लूको धरापमा पारे।
चौथो बलमा स्कट इडवार्डसलाई पनि एलबिडब्लूकै धरापमा पारे। तर यसका लागि उनले रिभ्यू लिनु परेको थियो। जससँगै उनले टी-२० ह्याट्रिक गर्ने इतिहास बनाए।
पाँचौ बलमा भार डेर मार्वीलाई बोल्ड गर्दै लगातार चार विकेट लिन सफल भए।
टी-२० विश्वकपमा कुनै पनि बलरले चार बलमा चार विकेट लिएको यो पहिलो पटक हो। यस्तै टी-२० मा विश्वकपमा ह्याट्रिक भने यो दोस्रो पटक हो। यसअघि सन् २००७ मा ब्रेट लीले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार बलमा लगातार चार विकेट लिने कार्टिस तेस्रा बलर बने। यसअघि सन् २०१९ मा अफगानिस्तानका रासिद खानले आइरल्यान्डविरुद्ध तथा सन् २०२९ मै श्रीलंकाका लासिथ मालिङ्गाले न्युजिल्यान्डविरुद्ध चार बलमा चार विकेट लिएका थिए।
कार्टिसको उत्कृष्ट बलिङसँगै आयरल्यान्डले नेदरल्यान्ड्सलाई १०६ रनमै अलआउट गरेको छ। नेदरल्यान्ड्सका लागि म्याक्स ओ'डाउडले ५१ रन जोडेका छन्। बलिङमा आयरल्यान्ड्सका कार्टिसले ४ विकेट लिँदा मार्क अडायरले ३ विकेट हात पारे।
युएई र ओमानमा जारी टी-२० विश्वकप २०२१ मा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्।
जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्।
सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।
पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।
पहिलो चरण
समूह ए : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह बी : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर-१२
समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता, समूह बी उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता