टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगिसकेका भारत र इंग्ल्यान्डले सोमबार वार्मअप खेल खेलेका छन्। जसमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।
दुबईमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेटको क्षतिमा १८८ रन जोड्यो।
इंग्ल्यान्डका लागि जोनी बायास्टोले ४९ रन, मोइन अलीले नटआउट ४३ रन र लियाम लिभिङ्स्टोनले ३० रन जोडे।
बलिङमा भारतका मोहमद सामीले ३ विकेट लिए।
१८९ रनको लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्यो।
भारतका लागि ओपनरद्वय केएल राहुलले ५१ र इशान किसनले ७० जोड्दा रिशव पन्तले नटआउट २९ रन बटुले।
युएई र ओमानमा जारी विश्वकपको पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।
जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्।
२४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ।
सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्।
समूह-१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।
प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।
प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।
पहिलो चरण
समूह ए : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह बी : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर-१२
समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता, समूह बी उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता