टेस्ट राष्ट्र आयरल्यान्डलाई पछि पार्दै नामिबिया आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ।
शुक्रबार भएको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै सुपर १२ मा स्थान बनाएको हो।
नामिबिया समूह ‘ए’ उपविजेता बन्दै सुपर १२ मा पुगेको हो। यो समूहमा श्रीलंका यसअघि नै सुपर १२ मा पुगिसकेको छ।
समूह ‘बी’ बाट स्कटल्यान्ड र बंगलादेश सुपर १२ मा पुगेका छन्।
शुक्रबार आयरल्यान्डले दिएको १२६ रनको लक्ष्य नामिबियाले १८.३ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नामिबियाका लागि कप्तान इरास्मसले नटआउट ५३ रन र डेभिड विइसेले नटआउट २८ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो। उसका लागि पाउल स्टर्लिङले ३८ रन र केभिन ओ’ब्राइनले २५ रन जोडे। आयरल्यान्डका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा नामिबियाका जान फ्राइलिङले ३ विकेट लिए भने डेभिड विइसेले २ विकेट हात पारे।
विश्वकपमा शनिबारदेखि सुपर १२ का खेल हुनेछन्। पहिलो दिन अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच खेल हुनेछ।