सन् २०११ मार्च ३०। भारतको चण्डीगढ विमानस्थालमा सबै व्यवसायीक उडान रोकिएका थिए। आकासमा लडाकु विमानले चक्कर लगाइरहेका थिए।
शहरभरी सुरक्षाकर्मी तैनाथ थिए। मोहाली क्रिकेट रंगशालालाई विशेष सुरक्षा घेराभित्र राखिएको थियो।
रंगशालालाई विशेष सुरक्षा दिनुको कारण पनि थियो। त्यहाँ हुन लागेको खेल रोमाञ्चक हुने त पक्का थियो, सुरक्षाको दृष्टिकोणले पनि संवेदनशिल थियो।
त्यो दिन मोहालीमा भारत र पाकिस्तान भिड्दै थिए। विश्वकप २०११ को सेमिफाइनलको उक्त खेल हेर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंह पुगिसकेका थिए। उनले पाकिस्तानका प्रधानमन्त्री युसुफ गिलानीलाई निम्ता दिएका थिए। निम्ता स्वीकार गर्दै गिलानी खेल हेर्न भारत आएका थिए।
सन् २००७ को टी-२० विश्वकपमा भारत र पाकिस्तानबीच उपाधि भिडन्त भएको थियो। जसमा भारतले पाकिस्तानलाई हराएर विश्व विजेता बनेको थियो।
चार वर्षपछि मोहलीमा भएको भिडन्तमा पाकिस्तानलाई सो हारको बदला लिँदै फाइनल पुग्ने अवसर थियो।
सो विश्वकप भारतका महान् खेलाडी सचिन तेन्दुल्करका लागि अन्तिम विश्वकप थियो। त्यसैले भारत पनि फाइनल पुग्न सबै शक्ति खर्च गर्ने योजनामा थियो।
खेलअघि पाकिस्तानका कप्तान शाहिद अफ्रिदीले ‘जितका लागि ज्यान दिने’ बताएका थिए।
पहिले ब्याटिङ गरेको भारतले २६० रन जोड्यो। भारतका लागि सचिनले ८५ रनको योगदान दिएका थिए। खेलमा सचिनको क्याच लिन पाकिस्तानका फिल्डर चार पटक असफल भएका थिए।
जवाफी ब्याटिङ गरेको पाकिस्तान १ बल खेल्न बाँकी छदा २३१ रनमै अलआउट भयो। जसका कारण खेल भारतले २९ रनले जित्यो।
यो हारको डेढ महिनापछि अफ्रिदीले कप्तान छाड्दै संन्यास लिएका थिए। सचिनले पनि विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिएका थिए।
खेलभन्दा धेरै थोक हो भारत–पाकिस्तान भिडन्त।
खेल हेर्न दुबै देशका कतिपय स्थानको सडक खाली हुनेछन्। चिया नास्ता अझ बेलुकाको खाना पहिले नै तयार हुनेछन्।
भारत र पाकिस्तानबीचको खेल विश्वको जुनसुकै कुनामा भए पनि सधैं यस्तै हुन्छ। अझ विश्वकपको खेल हुँदा त नहुने कुरै भएन।
दुबै टिमका कप्तान तथा खेलाडी खेललाई लिएर दबाब नभएको प्रतिक्रिया दिन्छन्। तर दुबै टिमका खेलाडी एकअर्काविरूद्ध खेल्दा तीव्र दबाबमा हुन्छन्।
२०१२ मा श्रीलंकामा भएको टी-२० विश्वकपमा भारत र पाकिस्तान समूह चरणमा प्रतिस्पर्धा गरेका थिए। सो खेल हुने दिनको विहानदेखि नै कोलम्बोमा ट्राफिक जाम भएको थियो। कोलम्बोको प्रेमदासा रंगशालाअघि भिड जम्मा हुँदा दर्शक डेढ किलोमिटर हिडेर रंगशाला पुगेका थिए।
खेलमा पाकिस्तानले राम्रो ब्याटिङ गर्न सकेन। पाकिस्तान १२८ रनमा अलआउट भएको थियो। भारतले सो लक्ष्य १७ ओभरमै पूरा गरेको थियो। खेलमा भारतका लागि विराट कोहलीले ७८ रन जोडेका थिए।
सन् २०१५ मा अस्ट्रेलियामा भएको एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएको थियो। यो खेल हेर्नका लगि एडिलेडमा समर्थकको घुँइचो लागेको थियो। अस्ट्रेलियाका पूर्वक्रिकेटरले चासोका साथ रंगशाला पुगेका थिए।
पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई ३०१ रनको लक्ष्य दिएको थियो। पाकिस्तान २२४ रनमै अलआउट हुँदा फेरि एकपटक विजयी भएको थियो।
सन् २०१६ को टी-२० विश्वकप भारतमा भएको थियो। सुपर १० को भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएको थियो।
कोलकताको इडिन गार्डेनमा भएको भिडन्तअघि भारतीय अभिनेता अमिताभ बच्चनले एक लाख दर्शकका साथ भारतको राष्ट्रगान गाएका थिए। जसमा सचिन तेन्दुल्करले पनि साथ दिएका थिए।
वर्षाका कारण खेल १८ ओभरमा झारिएको थियो। जसमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ११८ रन जोडेको थियो। भारतले १६ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। भारतका लागि विराट कोहलीले ३७ बलमा ५५ रन जोडेका थिए।
सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि भारत र पाकिस्तान भिडेका थिए। वर्षाले प्रभावित खेलमा भारत डिएल मेथडमा ८९ रनले विजयी भएको थियो।
पहिले ब्याटिङ गरेको भारतले ३३६ रन जोडेको थियो। पाकिस्तानले ६ विकेटको क्षतिमा २१२ रन बनाउँदा खेल वर्षाले अबरुद्ध भएको थियो। खेलमा भारतका रोहित शर्माले १४० र विराट कोहलीले ७७ रन जोडेका थिए।
भारत र पाकिस्तानबीच टी-२० विश्वकपमा पाँच वर्षपछि र समग्र खेलमा दुई वर्षपछि भिडन्त हुँदैछ। आज राति हुने आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को भिडन्तमा पाकिस्तान हारको ऋखंला तोड्न चाहान्छ भने भारत जितलाई निरान्तरता दिने लक्ष्यमा छ।