अहिले युएईमा आइसिसी टी-२० विश्वकप प्रतियोगिता भइरहेको छ।
आइतबार राति भएको खेलमा पाकिस्तानले चीर प्रतिद्वन्द्वी भारतलाई हराएको छ। भारतमाथि पाकिस्तानले १० विकेटको रवाफिलो जित हात पारेको हो।
यो जित पाकिस्तानका लागि नयाँ इतिहास हो किनकी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो। यसअघि भारतविरूद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका सबै १२ खेलमा पाकिस्तान पराजित भएको थियो।
सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि भारतमाथि जित हात पारेको हो।
भारत र पाकिस्तान दुबै क्रिकेट लोकप्रिय रहेका राष्ट्र हुन्। राजनीति रूपमा सम्बन्ध सुमधुर नरहेका दुबै देशका समर्थकलाई क्रिकेटमा एक अर्कालाई हराउनु पनि युद्ध जितेजस्तै लाग्छ।
आइतबार पाकिस्तानले भारतलाई हराएपछि भारतीय कप्तान विराट कोहलीले देखाएको व्यवहारले भने अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ।
आफ्नो टिमले हारेपछि भारतीय कप्तान कोहलीले पाकिस्तानी खेलाडीलाई भेट्छन्, बधाई दिन्छन् र अँगालो हाल्छन्। विराटले पाकिस्तानका ओपनर मोहमद रिजवानलाई अँगालो हालेको तस्बिरले धेरैको मन छोएको छ। इएसपिएनक्रिकइन्फोले उक्त तस्बिरलाई आफ्नो ट्वीटरमा नयाँ कभर पिक्चर बनाएको छ। कोहलीले पाकिस्तानका कप्तान तथा अर्का ओपनर बाबर आजामलाई पनि बधाई दिएका थिए।
आफ्नो टिमलाई जिताउन नसके पनि विराटले उत्कृष्ट खेल भावना देखाएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको प्रशंसासमेत गरेका छन्।
खेलका क्रममा यस्तो थियो दुई देशको प्रदर्शन
आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्यो।
पाकिस्तानका लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउट ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।
भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।
ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए।
सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए।
बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा ३० रन खर्चिए।
हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १-१ विकेट हात पारे।
यसअघि भारत र पाकिस्तानबीचको विश्वकपको नतिजा
टी-२० विश्वकप
२००७ – भारतद्वारा पाकिस्तान बलआउट (खेल बराबरी भएको) मा पराजित
२००७ – भारतद्वारा पाकिस्तान ५ रनले पराजित (फाइनल)
२०१२ - भारतद्वारा पाकिस्तान ८ विकेटले पराजित
२०१४ - भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित
२०१६ - भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित
एकदिवसीय विश्वकप
१९९२ - भारतद्वारा पाकिस्तान ४३ रनले पराजित
१९९६ - भारतद्वारा पाकिस्तान ३९ रनले पराजित
१९९९ – भारतद्वारा पाकिस्तान ४७ रनले पराजित
२००३ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित
२०११ – भारतद्वारा पाकिस्तान २७ रनले पराजित
२०१५ – भारतद्वारा पाकिस्तान ७६ रनले पराजित
२०१९ – भारतद्वारा पाकिस्तान ८९ रनले पराजित