क्रिकेटका प्रशंसकहरूलाई अहिले आइसिसी टी-२० पुरुष विश्वकपको ज्वरोले छोएको छ।
युएईमा भइरहेको विश्वकपमा विभिन्न १६ मुलुक सम्मिलित छन्। तीमध्ये आइतबार भएको भारत र पाकिस्तानबीचको खेलको चर्चा अझै सकिएको छैन।
आइतबारको खेलमा पाकिस्तानले पहिलो पटक विश्वकपमा हरायो त्यो पनि दस विकेटले।
एक दिवसीय र टी-२० विश्वकपमा अहिलेसम्म १२ पटक आमनेसामने हुँदा पाकिस्तानले नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएनन्। राजनीतिक रूपमा शत्रुतापूर्ण सम्बन्ध भएका यी दुई मुलुकको क्रिकेटमा बितेका २९ वर्षसम्म पाकिस्तानमाथि भारत हाबी थियो।
आइतबारको खेलपछि भारत हावी हुने शिलशिला टुटेको छ, पाकिस्तानी फ्यानमा नयाँ उमंग सञ्चार भएको छ। जितसँगै विभिन्न रेकर्ड बनेका छन्।
भारतलाई टी-२० फर्म्याटमा प्रतिष्पर्धी टिमले यसअघि कहिल्यै पनि १० विकेटले हराउन सकेका थिएनन्। पाकिस्तानले पनि यसअघि कुनै टिमलाई १० विकेटले जितेको थिएन।
भारतमाथि यो सानदार जितको नेतृत्व गरेका थिए, २७ वर्षीय बाबर आजामले। तीन वर्षअघि पाकिस्तान टिमको नेतृत्व सम्हालेका आजामले भारतविरूद्धको टिमलाई नेतृत्वमात्रै दिएनन् व्यक्तिगत योगदान पनि गरे।
ओपनिङमा ब्याटिङ गर्न उनले नटआउट रहेर ५२ बल ६८ रन हाने। उनलाई अर्का ओपनर मोहम्मद रिजवान साथ दिए। रिजवानले पनि नटआउट ५५ बलमा ७९ रन हिर्काए।
निर्धारित २० ओभर सकिनुअघि नै भारतले दिएको १५१ रन लक्ष्य पूरा भएपछि पाकिस्तानभित्र र बाहिर रहेका पाकिस्तानले जितको ‘जश्न’ मनाए।
दुबई इन्टरनेशनल रंगशालाको प्यारापिटमा बसेर छोराको खेल हेरिरहेका आजामका बुवा आजाम सिद्धिकीले हर्षको आँशु रोक्न सकेनन्। उनी खुसीले भक्कानिए। वरिपरि बसेकाले अँगालो हालेर उनलाई बधाई दिए।
अहिले सामाजिक सञ्जालमा सिद्धिकीको उक्त भिडिओ भाइरल भइरहेको छ। पाकिस्तानको पञ्जाब प्रान्तको लाहोरमा बस्ने सिद्धिकीलाई आफ्ना छोराको क्षमतामा विश्वास थियो। छोराले पाकिस्तान टिममा डेब्यु गर्नुअघि नै उनले छोरो एक दिन मैदानमा छाउने बताएका थिए।
क्रिकेटको तथ्यांक राख्ने मजहर आर्सदले ट्वीटरमा सिद्धिकीको भिडिओ राख्दै भनेका छन्- त्यो आजाम पाकिस्तानी टिममा डेब्यु हुनुभन्दा तीन वर्षअघिको कुरा हो। त्यतिबेला उनले मलाई भनेको म सम्झन्छु- बस डेब्यु हो जाने दो। आगे सारा मैदान बाबरका है। (डेब्युमात्र हुन दिनुस्, त्यसपछि सबै मैदान बाबरकै हुन्छ।)