युनाइटेड अरब इमिरेट्समा अहिले आइसिसी टी-२० पुरुष विश्वकप प्रतियोगिता भइरहेको छ। ट्रफी उचाल्ने लक्ष्यका साथ विभिन्न १६ मुलुक प्रतियोगितामा सम्मिलित छन्। हरेक देशले आफ्ना खेलाडीलाई सकेजति सक्षम बनाएर प्रतियोगितामा पठाएका छन्।
गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानले पनि विश्वकप खेलिरहेको छ। अफगान खेलाडीका लागि भने अरू देशको जस्तो सहज छैन। अमेरिकी सेनाले काबुल छोड्दा तालिबानको डरले मानिसहरू जहाजमा झुन्डिएको तस्बिरले संसारलाई भावुक बनाएको थियो। अतिवादी विचार राख्ने तालिबानहरूले क्रिकेटलाई अगाडि बढ्न दिन्छन् कि दिन्नन भन्ने टुंगो छैन।
काबुलको सत्ता चलाइरहेका तालिबानहरूले अहिले पहिलाको झन्डा र राष्ट्रिय गान पनि प्रयोग नगर्ने बताएका छन् तर नयाँ पनि बनाइसकेका छैनन्।
सोमबार शारजाँह रंगशालामा स्कटल्यान्डविरूद्ध खेल्न उत्रिँदा आइसिसीले अफगानिस्तानको यसअघिकै झन्डा र राष्ट्रिय गान प्रयोग गरेको थियो। आफूले वर्षौंसम्म गाएको राष्ट्रिय गान गाउँदा अफगान खेलाडी भावुक बनेका थिए। कप्तान मोहम्मद नाबीले त आफूलाई सम्हाल्न सकेनन्। उनका आँखाबाट आँशु आइहाल्यो। नाबी भक्कानिएको त्यो तस्बिर अहिले अफगान सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चामा छ।
‘यो भूमि अफगानिस्तान हो…’ भन्ने राष्ट्रिय गान सन् २००६ बाट प्रयोगमा ल्याइएको हो। अफगानिस्तानमा क्रिकेटको विकास भएको पनि त्यही समयपछि भएको हो।
खेलअघि अफगान समर्थकलाई भावुक बनाएका नाबीले खेलपछि भने खुसी दिएका थिए। टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो।
१९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १०.२ ओभरमै सबै विकेट गुमाएर ६० रनमात्र जोड्न सकेपछि अफगानिस्तानले १३० रनको सानदार जित निकाल्यो।
अब अफगानिस्तानले अर्को खेल शुक्रबार पाकिस्तानसँग खेल्दैछ। पाकिस्तानले आइतबार भएको खेलमा भारतलाई १० विकेटले हराएको थियो।