मुजिब उर् रहमानले टी-ट्वान्टी विश्वकप इतिहासकै उत्कृस्ट बलिङ गर्दा युएईमा जारी सातौं संस्करणको टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डसामू कीर्तिमानी जित निकालेको छ।
युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउँदा अफगानिस्तानले १३० रनको विशाल जित निकाल्यो।
विशाल लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डका ओपनर जर्ज मुनसे २५ र कायल कोट्जरले १० तथा क्रिस ग्रिभ्सले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ५ जना ब्याट्सम्यान खाता समेत नखोली पेभेलियन फर्किए। मुनसे र कोट्जरले २८ रनको ओपनिङ साझेदारी गरेपछि चौंथो ओभरमा मुजिबले ३ विकेट लिँदै अफगानिस्तानलाई खेलमा हावी गराए। त्यसपछि मुजिब र राशिद खानले लगातार विकेट लिँदा स्कटल्याण्ड ब्याट्सम्यानहरु निरिह सावित भए।
अफगानिस्तान स्पिनर मुजिब उर् रहमानले टी-ट्वान्टी अन्तर्राष्ट्रिय करियरमै पहिलो पटक ५ विकेट लिने क्रममा ४ ओभरमा २० रन मात्र खर्चिए। टी ट्वान्टी विश्वकप इतिहासकै यो पाँचौ उत्कृस्ट बलिङ स्पेल हो। यस्तै राशिद खानले २.२ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट आफ्नो नाम गरे। नभिन उल हकले १ विकेट लिए।
स्कटल्याण्डले बनाएको ६० रन टी-ट्वान्टी विश्वकप इतिहासकै संयुक्तरुपमा चौंथो कम योगफल हो भने स्कटल्याण्डको सबैभन्दा कम योगफल हो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो।
अफगानिस्तानको ब्याटिङमा नजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन बनाए। ३० बलमा अर्धशतक पुरा गरेका उनले ३४ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै रहमनुल्लाह गुर्बजले ३७ बलमा १ चौका र ४ छक्का मद्दतले ४६ रन, हज्रतुल्लाह जजाईले ३० बलमा ३ छक्का र ३ चौका मद्दतले ४४ रन बनाए। मोहम्मद शाहजादले १५ बलमा २२ तथा मोहम्मद नाबीले ४ बलमा अविजित ११ रन बनाए।
अफगानिस्तानको सुरूवात राम्रो रह्यो। ओपनर मोहम्मद शाहजाद र हज्रतुल्लाह जजाईले ५४ रनको ओपनिङ साझेदारी गरे। जजाईले दोस्रो विकेटको लागि रहमनुल्लाह गुर्बजसँग २८ रन जोडे। त्यसपछि गुर्बज र नजीबुल्लाह जद्रानले तेस्रो विकेटको लागि ८७ रनको साझेदारी गरे। त्यसपछि जद्रान र कप्तान मोहम्मद नाबीले मात्र ९ बलमा २१ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा अफगानिस्तानले २ विकेट मात्र गुमाएर ६३ रन बनाएको थियो।
टी-ट्वान्टी विश्वकप इतिहासमा अफगानिस्तानको यो सर्वाधिक टिम योगफल हो। यस्तै जारी विश्वकपको पनि सर्वाधिक योगफल हो। यसअघि अफगानिस्तानको टि-२० विश्वकपको सर्वाधिक योगफल सन् २०१६ मा जिम्बाम्बेविरूद्ध १८६ रन बनाएको थियो।
स्कटल्याण्ड बलर सफ्यान सरिफले २ विकेट लिँदा मार्क वाट र जोश डेभिले समान एक-एक विकेट लिए।
१३० रनको जित टी-ट्वान्टी विश्वकप इतिहासकै संयुक्त रूपमा दोस्रो ठूलो रन अन्तरको तथा अफगानिस्तानको टी-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। यसअघि अफगानिस्तानको ठूलो रन अन्तरको जित केन्या बिरुद्ध २०१३ मा १०६ रनको थियो। टी ट्वान्टी विश्वकपको सबैभन्दा ठूलो रन अन्तरको जितको रेकर्ड श्रीलंकाको नाममा छ जसले केन्यालाई २००७ मा १७२ रनले पराजित गरेको थियो। दक्षिण अफ्रीकाले २००९ मा स्कटल्याण्डलाईनै समान १३० रनले पराजित गरेको थियो।