यूएईमा जारी टी–२० विश्वकपअन्तर्गत वेष्ट इन्डिजविरूद्ध दक्षिण अफ्रिकाले सानदार जित निकालेको छ।
जारी विश्वकपमा पहिलो जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजमाथि ८ विकेटको रवाफिलो जित दर्ता गरेको हो। उसले पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध ५ विकेटले हारको सामना गरेको थियो।
वेष्ट इन्डिजको भने यो लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा वेष्ट इन्डिज इंग्ल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।
आफ्नो दोस्रो खेलमा मंगलबार वेष्ट इन्डिजले दिएको १ सय ४४ रनको सामान्य लक्ष्य पछ्याएको अफ्रिकाले १८.२ ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो। यसका लागि एडन मार्कमले नटआउट ५१, रस्सीभान दर दुसेनले अविजित ४३, रिजा हेन्ड्रिक्सले ३९ र कप्तान तेम्बा बवुमाले २ रन बनाए। बलिङमा अकिल होसेनले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो।
उसका लागि इभन लुईसले ५६, किरण पोलार्डले २६, लिन्डल सिमन्सले १६, निकोलश पूरन र क्रिस गेलले १२–१२ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
बलिङमा ड्वेन प्रिटोरियसले तीन, केशव महाराजले दुई, कागिसो रबाडा र एनरिक नोर्टजेले एक/एक विकेट लिए।