युएईमा जारी टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा वेस्टइन्डिज विरूद्ध दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डिकक मैदानमा उत्रिएनन्।
डिककको स्थानमा हेनरिच क्लासेनले किपिङ सम्हाले भने टिममा डिककको स्थानमा रेजा हेन्ड्रिक्सले मौका पाए। दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमाले टसको दौरान डिककले व्यक्तिगत कारणले नाम फिर्ता लिएको जानकारी गराए।
३० मिनेटअघि नाम फिर्ता लिएका डिकक नखेल्नुको पछाडि अर्कै कारण छ। वेस्टइन्डिजसँग खेलको ठीक अगाडि दक्षिण अफ्रीका क्रिकेट बोर्डले विज्ञप्ति जारी गर्दै सबै खेलाडीलाई 'ब्ल्याक लाइभ्स म्याटर' अभियानमा सहभागी हुन निर्देशन दिएको थियो।
‘नश्लवादविरूद्ध एकजुट हुनु अनिवार्य छ। अझ दक्षिण अफ्रिकाको इतिहास हेर्ने हो भने। विश्वका अन्य टिमहरुले यो मुद्दामा साथ दिएका छन् र बोर्डले यो महसुस गरेको छ कि सबै दक्षिण अफ्रिकी खेलाडीले यस्तो गर्ने समय आएको छ,’ विज्ञप्तिमा भनिएको छ।
अभियानमा सहभागी खेलाडीले कसैले घुँडा टेकेर, कसैले मुठ्ठी उठाएर या छातिमा हात राखेर समर्थन गर्ने गर्छन्। दक्षिण अफ्रिकाको पछिल्लो खेलमा अस्ट्रेलियाविरूद्ध कप्तान बभुमाले घुँडा टेक्दै गर्दा डिकक उभिएका मात्र थिए। अर्थात् ब्ल्याक लाइभ्स म्याटर अभियानमा डिककको सहभागिता थिएन।
वेस्टइन्डिजसँग खेल्नुअघि सोही कुरामा मतभेद भएकाले डिककले नाम फिर्ता लिएको बताइएको छ।
अन्तिम-११ मा डिकक नदेखिएपछि मंगलबार भारतीय क्रिकेटर दिनेश कार्तिकले एउटा फोटो ट्वीट गर्दै ‘डिकक नखेल्नुको पछाडि कारण’ लेखेका छन्। फोटोमा दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमा घुँडा टेकेर हात उठाएका छन् भने डिकक उभिएर हात कम्मरमा राखेको देखिएका छन्।
डिककले यसै वर्ष जुनमा वेस्टइन्डिज बिरुद्ध भएको टेष्ट सिरिजको अनलाइन प्रेस कन्फरेन्समा ब्ल्याक लाइभ म्याटर अभियानमा नजोडिनुको पछाडि कारण बताउन अश्वीकार गरेका थिए।
उनले त्यस बेला मेरो कारण? म आफैसँग राख्छु। यो मेरो आफ्नै र व्यक्तिगत धारणा हो। कसैले पनि तपाईलाई जीवनमा जबर्जस्ती गर्न पाउदैन। कुराहरुलाई हेर्ने यो मेरो आफ्नै तरिका हो भनेका थिए।
डिककले कहिल्यै पनि ब्ल्याक लाइभ म्याटर अभियानमा घुँडा टेकेको देखिएका छैनन्।
यसैबीच दक्षिण अफ्रिकी बोर्डले जारि गरेको विज्ञप्तिमा मानिसहरूको अभिव्यक्ति स्वतन्त्रताको बिभिन्न पाटो रहे पनि नश्लवादको बिरुद्ध उभिने कुरामा त्यो कुरा लागू नहुने बताइएको छ। ‘घुँडा टेक्नु खेलाडीले नश्लवादविरूद्ध इशारा गर्नु हो र यसले सबै यसको विरूद्ध छन् भने सन्देश दिन्छ। नश्लवाद रोक्नको लागि हामि एकजुट हुनु पर्छ। हाम्रो कमजोरी बढाउन यो कुरामा हेरफेर हुनु हुँदैन,’ विज्ञप्तिमा भनिएको छ।
गत वर्ष बिएलएम अभियानका लागि दक्षिण अफ्रिकाले नस्लवाद विरोधी आन्दोलनको समर्थनका लागि विभिन्न तरिका मपनाएको थियो। तर डिककसहित राष्ट्रिय टिमका केही खेलाडीले एक साथ घुँडा टेकेका थिएनन्।
श्रीलंकाविरूद्धको श्रृंखलामा पनि यस्तै समस्या आएको थियो। तर यस्तो समस्या आए पनि अफ्रिकन क्रिकेट बोर्डले कुनै विज्ञप्ति भने निकालेको थिएन।
दक्षिण अफ्रिकाको लागि ५८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका २८ वर्षीय डिककले ३४.६ को औशत र १३५.६६ को स्ट्राइक रेटमा १,७६५ रन बनाएका छन्।
उनी टि-२० अन्तर्राष्ट्रियमा जेपी डुमिनी (१,९३४ ) पछि दक्षिण अफ्रिकाको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।