युएईमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले लगातार दोस्रो जित निकालेको छ।
पहिलो खेलमा वेष्ट इण्डिजलाई ६ विकेटले हराएको इंग्ल्याण्डले बुधबार बंगलादेशलाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
यता बंगलादेशको भने यो लगातार दोस्रो हार हो। उसले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको थियो।
बंगलादेशले दिएको १२५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १४.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। उसका लागि ओपनर जेसन रोयले उत्कृष्ट अर्धशतकीय पारी खेले। ३८ बल खेलेका उनले तीन छक्का र पाँच चौकासहित ६१ रन बनाए।
त्यस्तै, डेविड मलानले अविजित २८, जोस बटलरले १८ र जोनी बेयरिस्टोले अविजित ८ रनको योगदान दिए। बलिङमा नसुम अहमद र शोरीफुल इश्लामले एक/एक विकेट लिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनायो। उसका लागि मुश्फीकुर रहीमले २९, महमुदुल्लाहले १९, नुरूल हसनले ११ र नसुम अहमदले अविजित १९ रन बनाए।
बलिङमा टियाम मिल्सले ३, मोइन अली, लियाम लिभिङस्टोनले २/२ र क्रिस वोक्सले एक विकेट लिए।
जितसँगै समूह १ मा रहेको इंग्ल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समूहमा भोलि अष्ट्रेलिया र श्रीलंका भिड्नेछन्। यसअघि यी दुबैले आफ्नो पहिलो खेल जितेका थिए।