युएईमा जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले ३ खेलबाट ६ अंक जोड्दै अन्तिम चार नजिक पुगेको हो।
अफगानिस्तानले दिएको १ सय ४८ रनको मध्यम लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि आसिफ अलीले आक्रामक पारी खेल्दै ७ बलमा चार छक्कासहित अविजित २५ रन बनाए। त्यस्तै, कप्तान बाबर आजमले ५१, फखर जमानले ३०, शोयब मलिकले १९, मोहम्मद अफीजले १० र मोहम्मद रिजवानले ८ रन बनाए।
बलिङमा अफगानिस्तानका लागि राशिद खानले दुई तथा मुजीबउर रहमान, नवीन उलहक र मोहम्मद नाबीले समान एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।
उसका लागि गुलबन्दिन नाइब र कप्तान मोहम्मद नाबीले आक्रामक ब्याटिङ गर्दै टिमलाई मध्यम योगफलसम्म पुर्याए। दुवैले अविजित समान ३५/३५ रन बनको योगदान दिए।
यस्तै, नजिबुल्लाह जद्रानले २२, करिम जन्नतले १५ तथा रहमानउल्लाह गुरबाज र असगर अफगानले समान १०/१० रन जोडे।
बलिङमा पाकिस्तानका लागि इमाद वासिमले २ तथा शादाब खान, हसन अली, हरिस रौफ र शाहीन शाह अफ्रिदीले समान एक-एक विकेट लिए।
जारी विश्वकपमा पाकिस्तानको यो लगातार तेस्रो जित हो। उसले पहिलो खेलमा भारतलाई १० विकेटले हराउँदै दोस्रो खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले पन्छाएको थियो।
आजको जितसँगै पाकिस्तान शीर्ष स्थानमा कायमै छ। समूह ‘१’ मा रहेको पाकिस्तानले ३ म्याचमा ६ अंक जोडेको छ । त्यस्तै, यही समूहमा रहेको अफगानिस्तान दोस्रो, नामिबिया तेस्रो, न्यूजिल्याण्ड चौथो, भारत पाँचौ र स्कटल्याण्ड छैटौँ स्थानमा छन्।
भोलि समूह १ का दुई खेल हुनेछन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकाको सामना गर्नेछ भने दोस्रो खेलमा अष्ट्रेलियाले इंल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा समान २-२ खेलबाट शतप्रतिशत जित निकालेका इङ्ल्याण्ड र अष्ट्रेलिया शीर्ष दुईमा छन्। यस्तै समान २ खेलबाट २-२ अंक जोडेका श्रीलंका र दक्षिण अफ्रिका तेस्रो र चौथो स्थानमा छन्।
आजै भएको पहिलो खेलमा बंगलादेशलाई हराउँदै वेष्टइन्डिजले तीन खेलबाट २ अंक जोडेको छ। बंगलादेश अंकबिहिन हुँदै पुछारमा छ।