युएईमा जारी सातौं संस्करणको आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ।
जारी विश्वकपमा दोस्रो जित निकाल्ने क्रममा अफ्रिकाले श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो।
अफ्रिकाको जितमा डेविड मिलरले आक्रामक पारी खेले। १३ बलमा उनले २ छक्कासहित अविजित २३ रन जोड्दै टिमलाई महत्वपूर्ण जित दिलाए। अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक रहेका बेला उनले लगातार २ छक्का हिर्काउँदै टिमलाई खेलमा फर्काएका थिए।
६ बलमा दक्षिण अफ्रिकालाई जितको लागि १५ रन आवश्यक थियो। ओभरको पहिलो बलमा लाहिरू कुमाराले रबाडालाई १ रन दिए। त्यसपछि क्रिजमा आएका मिलरले लगातार २ छक्का हिर्काउँदै खेलमा फर्कानउे कोशिश गरे। चौथो बलमा एक रन लिएर स्कोर बराबर गरेको अफ्रिकाको लागि रबाडाले ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै रोमाञ्चक जित दिलाए।
यसअघि कप्तान तेम्बा बावुमाले ४६, एडिन मार्कम १९, रस्सीभानदर दुसेनले १६, क्विन्टन डिककले १२, रीजा हेन्ड्रिक्सले ११, र कागिसो रबाडाले अविजित १३ रन बनाए ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ह्याट्रिक विकेट लिए। १५ औं ओभरको अन्तिम बलमा एडेन माक्ररमलाई आउट गराएका उनले १८ औं ओभरको पहिलो बलमै कप्तान टेम्बा बभुमालाई र दोस्रो बलमा ड्वेन प्रिटियोरियसलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए। त्यस्तै, दुश्मन्था चामेराले २ विकेट हात पारे।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो। उसका लागि ओपनिङ ब्याट्सम्यान पथुम निसंकाकाले अर्धशतकीय उत्कृष्ट पारी खेले ।
उनले ५८ बलमा ६ चौका र तीन छक्कासहित ७२ रन जोडे। त्यस्तै, चरिथा असलंकाले २१ र कप्तान दसुन शनकाले ११ रनको योगदान दिए। बाँकी कुनै पनि ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
बलिङमा तरबिज शम्सी र ड्वेन प्रिटोरियसले समान तीन-तीन विकेट लिए भने एनरिच नोर्कियाले २ विकेट हात पारे।
आजको जितसँगै दक्षिण अफ्रिका तेस्रो स्थानमा उक्लिएको छ। श्रीलंका भने चौथो स्थानमा खस्किएको छ। यी दुवै टिमले समूह ‘१’बाट समान ३-३ खेल खेलिरहेका छन्।
पहिलो खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध ५ विकेटले हारको सामना गरेको थियो भने दोस्रो खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले हराएको थियो।
यता श्रीलंकाको भने यो दोस्रो हार हो। यसअघि उसले दोस्रो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो। पहिलो खेलमा भने श्रीलंका अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो। यो समूहको शीर्ष स्थानमा रहेका इंग्ल्याण्ड र अष्ट्रेलिया खेलिरहेका छन्।