आइसिसी टी-२० विश्वकपमा इंग्ल्यान्डले लगातार तेस्रो खेलमा जित हात पारेको छ। शनिबार राति सकिएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले हरायो। अस्ट्रेलियाको भने यो पहिलो हार हो।
पहिले ब्याटिङ गरेको अस्ट्रेलिया २० ओभरमा १२५ रनमा अलआउट भयो।
उसका लागि आरोन फिन्चले ४४ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए। टाइमल मिल्स र क्रिस ओएक्सले २-२ विकेट लिए।
१२६ रनको सहज लक्ष्य इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो।
इंग्ल्यान्डका लागि जासन रोएले २२ रन जोड्दा जोस बटलरले नटआउट ७१ रनको योगदान दिए। बटलरले ३२ बलमा ५ चौका र ५ छक्का हिर्काए। डविड मलान ८ रनमा आउट हुँदा जोनी बायर्स्टोले नटआउट १६ रनको योगदान दिए।
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलियाको ४-४ अंक छ।