आइसिसी टी-२० विश्वकपको सुपर १२ अन्तर्गत समूह-२ मा भारतले लगातार दुई खेलमा हार बेहोर्यो। पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले हार्यो।
समूहमा पाकिस्तान लगातार तीन जितबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। पाकिस्तानले अब तुलनात्मक रूपमा कमजोर मानिएका नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ। जसका कारण पाकिस्तानका लागि सेमिफाइनल यात्रा सहज मानिएको छ।
दुई खेलमा फराकिलो अन्तरले पराजित भएको भारतको नेट रनरेट पनि राम्रो छैन। त्यसैले अब भारतका लागि अन्तिम चारको यात्रा अन्य टिमको नजितामा भर परेको छ।
यता भारतलाई पराजित गरेको न्युजिल्यान्डका लागि सेमिफाइनल यात्रा सहज भइसकेको छैन। न्युजिल्यान्डको अन्तिम चारको यात्रामा अफगानिस्तान बाधक बन्न सक्नेछ।
अहिलेको अवस्थामा न्युजिल्यान्ड, अफगानिस्तान र भारत मध्ये एक टिम समूह २ बाट अन्तिम चारमा पुग्न सक्ने समिकरण छ।
भारत
खेल : २
अंक : ०
रनरेट : -१.६०९
बाँकी खेल : अफगानिस्तान, स्कटल्यान्ड र नामिबिया
सेमिफाइनल पुग्न भारतका लागि बाँकी रहेका तीन खेलमा जित निकाल्नु पर्नेछ तथा न्युजिल्यान्ड र अफगानिस्तानले बाँकी रहेका खेल मध्ये कम्तिमा एक खेलमा हार बेहोर्नु पर्नेछ। यो भएमा नेट रनरेटले काम गर्नेछ र भारत सेमिफाइनल पुग्न सक्नेछ।
न्युजिल्यान्ड
खेल : २
अंक : २
रनरेट : ०.७६५
बाँकी खेल : स्कटल्यान्ड,नामिबिया र अफगानिस्तान
भारतविरूद्धको खेलमा १४.३ ओभरमै लक्ष्य पार गरेपछि न्युजिल्यान्डको रनरेट राम्रो भएको छ।
यदि न्युजिल्यान्डले बाँकी रहेका सबै खेलमा जित हात पारे अन्तिम चारमा पुग्नेछ। न्युजिल्यान्डले तीनै खेलमा जित हात पारे अन्य नतिजाले कुनै असर गर्नेछैन।
बाँकी रहेका तीन खेल मध्ये न्युजिल्यान्डका लागि अफगानिस्तान बलियो प्रतिद्वन्द्वी हो। यदि अफगानिस्तानसँग पराजित भएको अवस्थामा पनि न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बाँकी नै रहनेछ। तर त्यसका लागि अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ।
अफगानिस्तान
खेल : ३
अंक : ४
रनरेट : +३.०९७
बाँकी खेल : भारत र न्युजिल्यान्ड
अफगानिस्तानले प्रतियोगितामा स्कटल्यान्ड र नामिबियालाई हराएको थियो। पाकिस्तानलाई कडा टक्कर दिएको अफगानिस्तानको रनरेट राम्रो छ।
अफगानिस्तानको बाँकी रहेका दुवै खेल बलिया टिमविरूद्ध छ। यदि दुवै टिमलाई हराएको अवस्थमा अफगानिस्तान अन्तिम चारमा पुग्नेछ। यदि भारतसँग हार र न्युजिल्यान्डसँग जित निकालेमा पनि रनरेटमा अफगानिस्तान अघि रहनेछ।