आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
मंगलबार भएको खेलमा बंगलादेशमाथि ६ विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले अन्तिम चारको यात्रा जीवित राखेको हो।
यता लगातार चार हारसँगै बंगलादेश भने सुपर १२ बाटै बाहिरिएको छ। सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड लगातार चार जित निकालेर अन्तिम चारमा पुगिसकेको छ।
मंगलबार खराब ब्याटिङ गरेको बंगलादेश १८.२ ओभरमा ८४ रनमै अलआउट भयो। बंगलादेशका लागि मेहदी हसनले २७ रन र समिम हुसेनले ११ रन जोडे। अन्य ९ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बंगलादेशको इनिङ ध्वस्त पार्ने क्रममा दक्षिण अफ्रिकाका तीव्र गतिका बलरद्वय कागिसो राबडा र एनरिच नोर्कियाले धारिलो बलिङ गरे। दुवैले ३-३ विकेट लिन सफल भए। राबडाले ४ ओभरमा २० रन दिँदा नोर्किया ३.२ ओभरमा ८ रन मात्र खर्चिए।
८५ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। दक्षिण अफ्रिकाका लागि क्वान्टन डि ककले १६ रन, भान डेर डुसनले २२ रन र कप्तान तेम्बा बाभुमाले नटआउट ३१ रन जोडे।