लगातार चौंथो खेलमा जित दर्ता गर्दै पाकिस्तान टी-२० विश्वकप २०२१को सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘२’ मा रहेको पाकिस्तानले आफ्नो चौथो खेलमा तुलनात्मक रूपमा कमजोर टोली नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
यो सँगै पाकिस्तान ९ वर्ष पछि कुनै पनि फर्म्याटको विश्वकपको अन्तिम चारमा पहिलो पटक पुगेको हो।
यो सँगै पाकिस्तान पाँचौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।
सन् २००७ को टी २० विश्वकप - (फाइनलमा भारतसँग ५ रनले पराजित)
सन् २००९ को विश्वकप- (फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि)
सन् २०१० को विश्वकप (सेमिफाइनलमा अष्ट्रेलियासँग ३ विकेटले पराजित)
सन् २०१२ को विश्वकप (सेमिफाइनलमा श्रीलंकासँग १६ रनले पराजित)
मंगलबार युएईको शेख जायद स्टेडियम अबुधाबीमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा समेटिएपछि पाकिस्तानले ४५ रनको सहज जित निकालेको हो।
नामिबियाको लागि डेभिड विजेले अविजित सर्वाधिक ४३ रन, क्रेग विलियम्सले ४० रन, स्टेफेन बार्डले २९ रन बनाए भने कप्तान गेहार्डले १५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
पाकिस्तानका लागि हसन अलि, इमाद वासिम, हरिस रौफ र शदाब खानले समान एक-एक विकेट लिए। शहिन साह अफ्रिदी विकेट विहिन बने।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो।
उसका लागि ओपनर मोहमम्द रिजवानले सर्वाधिक ७९ रन बनाए। ५० बल खेलेका उनले अविजित रहँदै ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर आजमले ७० रन बनाए। ४९ बल खेलेका उनले आउट हुनुअघि ७ चौका प्रहार गरे। मोहम्मद हफिजले आक्रमक ब्याटिङ गर्दै १६ बलमा ५ चौकासहित अविजित ३२ रन जोडे।
ओपनर बाबर र रिजवानले सुस्त सुरूवात गरे पनि पहिलो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। पन्ध्रौँ ओभरमा डेभिड विजेले आजमलाई आउट गरेपछि लगत्तै ओभरमा फखर जमान ५ रनमा आउट भए।
त्यसपछि क्रिजमा आएका हफिजले मात्र २६ बलमा ६७ रनको साझेदारी गरे। इनिंग्सको अन्तिम ५ ओभरमा पाकिस्तानले १ विकेट गुमाएर ७१ रन बनाएको थियो।
इनिंग्सको अन्तिम ओभरमा मोहम्मद रिजवानले ४ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदै सम्मानजनक स्कोर पुर्याएका थिए। नामिबियाका लागि डेभिड विजे र जान फ्राईलिंकले समान एक-एक विकेट लिए।
यो सँगै समूहमा खेलिएका सबै चार खेलमा जित पछि सेमिफाइनलमा स्थान पक्का गरेको पाकिस्तान ८ अंकसहित समूह ‘२’ को शीर्ष स्थानमा कायमै छ। पाकिस्तानले यस अघि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरेको थियो।
अफगानिस्तान ३ खेलमा ४ अंक सहित दोस्रो, न्युजिल्यान्ड र नामिबिया समान २ अंक सहित तेस्रो र चौंथो स्थानमा यथावत छन्। दुवै खेलमा पराजित भारत र स्कटल्याण्ड अंकविहिन रहँदै पाँचौ र छैठौं स्थानमा छन्।
पाकिस्तानले सुपर-१२ चरणको अन्तिम खेल स्कटल्याण्डसँग आगामी आइतबार खेल्नेछ भने नामिबियाले शुक्रबार न्युजिल्यान्ड तथा सोमबार भारतसँग अन्तिम खेल खेल्ने तालिका छ।