अफगानिस्तानलाई ६६ रनले हराउँदै युएईमा जारी टि-२० विश्वकप २०२१ मा भारतले पहिलो जित दर्ता गरेको छ।
सेख जायद स्टेडियम अबुधाबीमा भारतले दिएको २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो।
अफगानिस्तानको लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए जुन क्रममा अविजित रहँदै २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नाबीले ३५, रहमनुल्लाह गुर्बजले १९, गुल्बदिन नैबले १८, हज्रतुल्लाह जजाईले १३ रन बनाए।
नाबी र जनतले छैठौं विकेटको लागि ५७ रनको साझेदारी गर्दै टिमको स्कोर केही सुधारेका थिए।
भारतका लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए भने रभीचन्द्रन आश्विनले २ विकेट तथा जस्प्रित बुम्राह, रभीन्द्र जडेजाले समान एक-एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको थियो। यो योगफल जारी टि-२० विश्वकपकै सर्वाधिक स्कोर हो। यस्तै भारतको विश्वकप इतिहासमै दोस्रो ठूलो योगफल हो। यसअघि भारतले सन् २००७ को विश्वकपमा इंग्ल्याण्डविरूद्ध सर्वाधिक २१८ रन बनाएको थियो।
व्यापक सुधारिएको प्रदर्शन गरेको भारतको लागि रोहित शर्मा र केएल राहुलले पहिलो विकेटको लागि १४० रनको कीर्तिमानी साझेदारी गरे। टि-ट्वान्टी विश्वकप इतिहासमा यो भारतको सर्वाधिक ओपनिङ साझेदारी हो। यसअघि सन् २००७ मा विरेन्द्र सेहवाग र गौतम गम्भीरले १३६ रनको साझेदारी सर्वाधिक थियो।
रोहितले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै राहुलले ४८ बलमा ६ चौका र २ छक्कासहित ६९ रन बनाएर आउट भए।
हार्दिक पान्ड्याले विस्फोटक ब्याटिङ गर्दै मात्र १३ बलमा अविजित ३५ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए। समान १३ बल खेलेका रिशभ पन्तले १ चौका र ३ छक्कासहित अविजित २७ रन जोडे। पन्त र पान्ड्याले २१ बलमा ६३ रनको साझेदारी गर्दै टिमको स्कोर २०० कटाएका थिए। अन्तिम ५ ओभरमा भारत ले १ विकेट गुमाएर ६८ रन बनाएको थियो।
अफगानिस्तानका लागि गुल्बदिन नैब र करीम जनतले समान एक-एक विकेट लिए।
फराकिलो जितसँगै रनरेटमा राम्रो सुधार गरेको भारत समूह ‘२’ अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ। समान २ अंक रहेको नामिबिया नेट रन रेटमा पछि रहँदै पाँचौ तथा जितविहिन स्कटल्याण्ड छैठौं स्थानमा छ।
समूमा ४ वटै खेलमा जित दर्ता गरेको पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ। अफगानिस्तान ४ खेलमा २ जित र २ हारपछि ४ अंक सहित दोस्रो स्थानमा छ भने ३ खेलमा ४ अंक रहेको न्युजिल्यान्ड नेट रन रेटमा पछि रहँदै तेस्रो स्थानमा छ।
यद्यपी भारतको सेमिफाइनल सम्भावना कठिन छ। भारतलाई सेमिफाइनल पुग्न स्कटल्याण्ड र नामिबियाविरूद्धको बाँकी दुवै खेलमा ठूलो अन्तरको जित निकाल्नुपर्नेछ। आफूले हराएर मात्र हुन्न भारले सेमिफाइनलमा पुग्न अरू टिमको नतिजा पनि आफू अनुकुल हुनुपर्छ।
न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एउटामा हार बेहोर्नुपर्नेछ। त्यसो भए समान ६ अंक रहेता पनि नेट रन रेटमा भारत अघि जान सक्नेछ। तर न्युजिल्यान्डले अफगानिस्तान र नामिबियाविरूद्ध हुने बाँकी दुई खेल जितेमा भारत र अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।
अफगानिस्तान सेमीफाइनल पुग्नका लागि अन्तिम खेलमा न्युजिल्यान्डलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ। यस्तोमा भारत र न्युजिल्यान्डको समान ६ अंकनै भए पनि नेट रन रेटमा पछि पार्दै सेमिफाइनलमा स्थान पक्का गर्नेछ।