साविक विजेता वेस्ट इन्डिज युएईमा जारी टी–२० विश्व कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ।
प्रतियोगिताको चौथो खेलमा श्रीलंकासँग २० रनले पराजित हुँदै वेस्टइन्डिज समूह चरणबाट घर फर्कन बाध्य भएको हो।
शेख जायद स्टेडियममा सम्पन्न सुपर-१२ चरणको समूह ‘१’ को खेलमा श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पुरै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो।
वेस्टइन्डिजको ब्याटिंगमा सिमरन हेटमायरले सर्वाधिक ८१ रन बनाए। उनले ५४ बलमा ८ चौका र ४ छक्कासहित नटआउट रहे। यस्तै निकोलस पुरनले ४९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अर्को किनारमा लगातार विकेट गुमेता पनि पाँचौं नम्बरमा ब्याटिङ गरेका हेटमायरले टोलीलाई जिताउने प्रयत्न जारि राखेका थिए।
श्रीलंकाका लागि बिनुरा फर्नान्डो, चमिका करूनारत्ने र वानिन्दु हसरंगाले समान दुई-दुई विकेट लिए। दुश्मन्था चमिरा र दासुन शनाकाले समान एक-एक विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको थियो।
श्रीलंकाका लागि चरिथ असलंकाले सर्वाधिक ६८ रन बनाए। ४१ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे। यस्तै पथुम निसंकाले ५१, दासुन शनाकाले २५ तथा कुशल परेराले २५ रन बनाए।
निसंकाले परेरासँग ४२ रनको ओपनिङ साझेदारी गरेका थिए। दोस्रो विकेटको लागि उनले असलंकासँग ९१ रनको साझेदारी गरे। त्यसपछि असलंका र शनाकाले ४६ रनको साझेदारी गर्दै श्रीलंकालाई विशाल योगफलतर्फ डोहोर्याए।
वेस्टइन्डिजका लागि आन्द्रे रसेलले २ तथा ड्वेन ब्राभोले १ विकेट लिए।
श्रीलंकाको जितसँगै वेस्टइन्डिज एक खेल अगावै समूह ‘१’ को सेमिफाइनल दौडबाट बाहिरिएको छ। श्रीलंकाको सम्भावना यसअघिनै टुंगिसकेको थियो।
जितपछि समूहमा सबै ५ खेल खेलिसकेको श्रीलंकाको २ जित र ३ हारसहित ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। यस्तै वेस्टइन्डिज ४ खेलमा १ जित र ३ हारपछि २ अंक सहित पाँचौ स्थानमा छ। समूहका सबै ५ खेल गुमाएर अंकबिहिन बंगलादेश समूहको पुछारमा रहेको विश्वकप टुंग्याएको छ।
समुह ‘१’ बाट इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिका मध्ये शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्।
अन्तिम खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग पराजित भए पनि नेट रन रेट निकै राम्रो रहेकोले इंग्ल्यान्ड सेमिफाइनल पुग्ने लगभग निश्चित जस्तो छ।
यदि अस्ट्रेलियाले वेस्टइन्डिजलाई अन्तिम खेलमा पराजित गर्यो तथा दक्षिण अफ्रिकाले पनि इंग्ल्यान्डलाई पराजित गर्यो भने इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाको बराबर ८ अंक हुनेछ जुन अवस्थामा नेट रन रेटमा अघि हुने दुई टिम सेमिफाइनल पुग्नेछन्।