न्युजिल्यान्ड युएईमा जारी सातौं संस्करणको टी-ट्वान्टी विश्वकपको सेमिफाइनल नजिक पुगेको छ।
शुक्रबार नामिबियालाई ५२ रनले हराउँदै न्यूजिल्याण्ड प्रतियोगितामा तेस्रो जितसहित दोस्रो स्थानमा उक्लिएको छ।
युएईको शारजाह स्टेडियममा न्यूजिल्याण्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १११ रन मात्र बनाउन सक्यो।
उसका लागि माइकल भान लिंगेनले सर्वाधिक २५, जेन ग्रिनले २३, स्टेफेन बार्डले २१ तथा डेभिड विजाले १६ रन बनाए।
माइकल लिंगेन र बार्डले ४७ रनको ओपनिङ साझेदारी गरे पनि त्यसपछि खेलाडीहरू क्रिजमा टिक्न नसक्दा नामिबिया सस्तैमा समेटियो।
नामिबियालाई सस्तैमा रोक्न न्युजिल्यान्डका टिम साउदी र ट्रेन्ट बोल्टले समान दुई-दुई विकट लिए। मिचेल स्यान्टनर, जेम्स निशम र इश सोढीले समान एक-एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धरित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।
उसको लागि ग्लीन फिलिप्सले सर्वाधिक ३९ रन बनाए। जेम्स निशमले अविजित ३५ रन बनाउँदा कप्तान केन विलियमसनले २८, डेरेल मिचेलले १९, मार्टिन गुप्टिलले १८ तथा डेभोन कनवेले १७ रन जोडे।
८७ रनमा ४ विकेट गुमाएको अवस्थामा फिलिप्स र निशमले पाँचौ विकेटको लागि ३६ बलमा ७६ रनको साझेदारी गर्दै टिमलाई मध्यम स्कोरमा पुर्याए। दुई ब्याट्सम्यानले अन्तिम ५ ओभरमा ७३ रन जोडेका थिए।
नामिबियाका लागि जेरार्ड इरास्मस, डेभिड विजा र बर्नार्ड स्कल्जले समान एक-एक विकेट लिए।
यो जितपछि न्युजिल्यान्ड ४ खेलमा ३ जित र १ हार व्यहोर्दै ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ।
यसअघि चारै खेलमा शतप्रतिशत जित निकालेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यस्तै भारतले स्कटल्याण्डलाई शुक्रबार ८ विकेटले हराएसँगै ४ खेलबाट समान २ जित र २ हारसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
अफगानिस्तान ४ खेलमा २/२ जित हार बेहोर्दै ४ अंकसहित चौथो स्थानमा झरेको छ। उसलाई भारतले नेट रनरेटमा पछि पारेको हो। नामिबिया र स्कटल्याण्ड सेमिफाइनल दौडबाट बाहिरिसकेका छन्। नामिबियाले १ खेलमा जित हात पार्दा स्कटल्याण्डले सबै खेलमा हार व्यहोरेको छ।
सेमिफाइनल प्रवेश कसको अवस्था के छ?
न्यूजिल्याण्ड
- आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराए ५ खेलबाट ८ अंक जोड्दै सेमिफाइनल प्रवेश गर्नेछ।
- आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भए पनि ५ खेलबाट ६ अंक जोड्दै अफगानिस्तानलाई नेट रनरेटका आधारमा पछि पार्दै सेमिफाइनल प्रवेश गर्न सक्नेछ।
अफगानिस्तान
- न्यूजिल्याण्डलाई फराकिलो अन्तरमा हराएमा र अर्को खेल भारतले नामिबियालाई हराए पनि रन रेटमा पछि पार्न सके सेमिफाइनल प्रवेश गर्नेछ।
भारत
- अन्तिम खेलमा नामिबियालाई फराकिलो अन्तरमा हराएर मात्र हुन्न अफगानिस्तानले अन्तिम खेलमा न्यूजिल्याण्डलाई हराउनुपर्नेछ। यस्तो अवस्थामा न्यूजिल्याण्ड, अफगानिस्तान र भारतको समान अंक भए पनि नेट रनरेटमा पछि पार्दै सेमिफाइनल प्रवेश गर्न सक्नेछ।