वेस्टइन्डिजलाई हराउँदै अस्ट्रेलिया टी-ट्वान्टी विश्वकपको सेमिफाइनल नजिक पुगेको छ।
सुपर-१२ चरणको अन्तिम खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको हो।
शेख जायद स्टेडियम, अबुधाबीमा वेस्टइन्डिजले दिएको १५८ रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट गुमाएर १६.१ ओभरमै पूरा गर्यो।
अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ८९ रन बनाए। ५६ बल खेलेका उनी ९ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहे। त्यस्तै मिचेल मार्शले अर्धसतकीय इनिङ्स खेले। ३२ बल खेलेका उनले ५ चौका र २ छक्काको मद्दतले ५३ रन बनाए।
यसअघि कप्तान आरोन फिन्चले ९ रन जोडेका थिए।
वार्नरले फिन्चसँग ३३ रनको ओपनिङ साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि उनले मार्शसँग १२५ रनको सतकीय साझेदारी गरे।
टिमलाई जितका लागि १ रन भएको अवस्थामा मार्शलाई सोह्रौं ओभरको अन्तिम बलमा क्रिस गेलले क्याच आउट गरे।वेष्टइन्डिजका लागि क्रिस गेल र अकेल होसेनले समान १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो।
वेस्टइन्डिजका लागि कप्तान काईरन पोलार्डले सर्वाधिक ४४ रन बनाए। ३१ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै इभिन लुइसले २९, शिमरन हेटमायरए २७, आन्द्रे रसेलले अविजित १८, क्रिस गेलले १५ तथा ड्वेन ब्राभोले १० रन बनाएका थिए।
अस्ट्रेलियाका लागि जोश हेजलवुडले सर्वाधिक ४ विकेट लिए। मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले समान एक-एक विकट लिए।
यो जितसँगै अस्ट्रेलिया ५ खेलबाट ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट ८ अंक जोडेको इङ्ल्यान्ड रन रेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ। त्यस्तै ४ खेलबाट तीन जित र १ हारसहित ६ अंक जोडेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। आजै भइरहेको इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेलपछि मात्र सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुंगो लाग्नेछ।
यदि इङ्ल्याण्डले अफ्रिकालाई हराए अस्ट्रेलिया र इङ्ल्याण्ड सेमिफाइनलमा पुग्नेछ। दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई पराजित गरेको खण्डमा भने नेट रनरेटका आधारमा इङ्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकामध्ये दुई टिम सेमिफाइनलमा पुग्नेछन्।
दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई १३० रनभित्र समेट्न सकेमा अस्ट्रेलिया र अफ्रिका सेमिफाइनलमा पुग्दा इङ्ल्यान्ड बाहिरिनेछ।
अस्ट्रेलियाको नेट रन रेट +१.२१६ छ भने दक्षिण अफ्रिकाको +०.७४२ छ।
सारजाहमा भइरहेको समूह १ को अन्तिम खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई १९० रनको लक्ष्य दिएको छ।